सुदूरखबर डटकम

चिनिया राष्ट्रपति आज नेपाल आउदै, रातारात करोडौं खर्चेर काठमाण्डौंलाई दुलही जस्तै चिटिक्क सजाइयो (फोटो फिचर)

label समाचार प्रकाशक query_builder October, 12 2019

चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदै छन् । हाल भारतमा रहेका राष्ट्रपति सी शनिबार बेलुका ५ बजे काठमाडौँ आइपुग्ने छ । उनी आइतबार स्वदेश फर्किने छन् । तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो । शनिबार काठमाडौँमा विशेष विमानबाट अवतरण गरेपछि केही क्षणको विश्रामपछि चिनियाँ विशिष्ट पाहुनाले आफ्ना नेपाली समकक्षी श्रीमती भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको सम्मानमा शनिबार नै राजकीय भोजको आयोजना गर्नुहुने कार्यक्रम छ । भोलि नै राष्ट्रपति सीसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिष्टाचार भेट गर्नुहुनेछ ।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि उक्त मन्त्रालयले वार्ताको मिति सार्वजनिक गरेको छैन ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ। राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको छ।

भत्किएका र जीर्ण संरचना र फोहर थुप्रिएका ठाउँ रंगीन ब्यानरले छोपिएको छ। अस्तव्यस्त तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिएको छ। विमानस्थल–तीनकुने– बानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ। सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ।

सडककिनारका बिजुलीका खम्बामा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीका तस्बिर राखिएका छन्। सडकमा चम्किला र कृत्रिम गेट बनाइएका छन्। पाहुना आउँदा भित्री कुरूपता छोप्न सडक र छेउछाउका संरचना सजाइएको हो। ‘रातारात करोडौं रुपैयाँ खर्च गरेर सडकमा ब्यानर राखिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...