सुदूरखबर डटकम

सुदूरपश्चिमका शहरमा छ्यापछ्याप्ती बैङ्कहरु, पहाडका गाउँमा अझै पुगेनन बैङ्क

label समाचार प्रकाशक query_builder December, 29 2019

कैलाली, पौष-१३ । प्रदेश सरकारले एक वर्ष अघि नै प्रदेशका सबै स्थानीय तहलाई बैंकिङ पहुँचमा ल्याउने दाबी गरे पनि पूरा हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंक धनगढी कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार सुदूरपश्चिमको वित्तीय पहुँच शहर केन्द्रित रहेको देखिन्छ ।

प्रदेशमा रहेका ७ सय २ बैंक तथा वित्तीय संस्थामध्ये ३ सय २४ वटा बैंक तथा वित्तीय संस्थाहरू तराईका २ जिल्ला कैलाली कञ्चनपुरमा मात्रै केन्द्रित छन् ।

अन्य ७ पहाडी जिल्लामा २ सय ४० वटा बैंक तथा वित्तीय संस्था रहेको राष्ट्र बैंकको मङ्सिर मसान्तको तथ्याङ्कमा उल्लेख छ । त्यसमा पनि मानव विकास सूचकाङ्कको पुछारको जिल्ला बाजुराका ९ स्थानीय तहमध्ये तीन स्थानीय तह अझै बैंकविहीन छन् ।

विकट जिल्ला बझाङमा पनि दुई स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् । उक्त ५ स्थानीय तहमा २०६८ को जनगणना अनुसार ५० हजार ८ सय ६७ जनसङ्ख्या रहेको बझाङका कतिपय वासिन्दामा वित्तीय पहुँच छैन ।

प्रदेशमा गत आर्थिक वर्षसम्म ८५ अर्व कर्जा प्रवाह र ७३ अर्व निक्षेप सङ्कलन भएको नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका प्रमुख निश्चल अधिकारीले जानकारी दिए । त्यसमा कृषि तर्फ ७ अर्व ४३ करोड, औद्योगिक क्षेत्र तर्फ १९ अर्व २१ करोड कर्जा प्रवाह भएको उनको भनाई छ ।

बैंक तथा वित्तीय सङ्घ संस्थाहरू शहर केन्द्रित भएपछि लगानी पनि शहरमै केन्द्रित छ । प्रदेश भरको ८५ अर्व कर्जा मध्ये ७३ अर्व कर्जामा योगदान कैलाली कञ्चनपुरको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिमको कर्जा प्रवाह देशभरको कर्जासँग तुलना गर्दा तीन प्रतिशत मात्रै हो ।

प्रदेशको ५० हजार बढी जनसङ्ख्या वित्तीय पहुँच बाहिर रहँदा पनि प्रदेश सरकारहरू टुलुटुलु हेरेर बस्नु उपयुक्त होइन।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा भने यस आर्थिक वर्षको मसान्तसम्ममा वित्तीय पहुँच बाहिर रहेकाहरुलाई समेत त्यो सुविधा प्रदान गरिसक्ने दावी गर्छन्।
बिजमाण्डौ बाट

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...