सुदूरखबर डटकम

गजल

label समाचार प्रकाशक query_builder January, 02 2020

तिम्रै झझल्को काफी छ, अर्को अझै को चाहियो
मैले रुँदा रोओस् सँगै, केबल अँध्यारो चाहियो

कस्तो अनौठो प्रीतको आभाष हो पलपल नयाँ
डुब्दा न पानी चाहियो, जल्दा न आगो चाहियो

आफ्नाहरूको भीडमा निस्सासिएको मान्छे हुँ
बाटो नछेकोस् कम्तिमा, कोही बिरानो चाहियो

उर्लेको गङ्गा भेलमा बग्दै गरेको दीप हुँ
माग्नू नडुब्दै, सुन्छु म, वरदान कस्तो चाहियो

पिउने बहाना मात्र हो, मात्ने इरादा हो बरू
खोल्नैछ सबको राज अब, आवाज पैंचो चाहियो
रजज (२२१२ ‌x ४)

आवाज शर्मा
पोखरा

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...