सुदूरखबर डटकम

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात

label समाचार प्रकाशक query_builder January, 03 2020

पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “वर्षा लगातार नभई केही समय रोकिँदै फेरी शुरु हुने छ”, मौसमविद् मानन्धरले भन्नुभयो ।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हलका वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

बाजुरामा हिमपात

बाजुरामा बिहीबार अपरान्ह्देखि दोस्रोपटक भारी हिमपात र वर्षा भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगीन, आटीचौरका माथिल्ला दर्जन बढी स्थानमा भारी हिमपात भएको छ । हिमपातसँगै तल्लो क्षेत्रतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको छ । चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आङ्शिक रूपमा बन्द छन् । हिमाली क्षेत्रमा भारी हिमपातले बाहिर निस्कनसमेत समस्या भइरहेको गौमुलका रामबहादुर बुढाले जानकारी दिनुभएको छ ।

चिसो छल्न बेँसी झरेकालाई पनि बिहीबारदेखि बढेको चिसोले समस्या परेको छ । चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुशी भएका छन् ।

चिसोले हिमाली क्षेत्रमा पर्ने बिच्छ्या, रुगीन, कोल्टी, पाण्डुसैन, दहकोटलगायतका क्षेत्रमा विद्यालय बन्द छन् भने स्थानीयवासीलाई दैनिक कामकाज गर्नसमेत समस्या भएको छ । अहिले बाजुराको तापक्रम शून्य डिग्री तापक्रम छ । यसअघि मङ्सिर दोस्रो साता पनि बाजुराको सदरमुकामसम्मै भारी हिमपात भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...