सुदूरखबर डटकम

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिमबाट चार जनाको उम्मेदवारी

label झलक पाली query_builder January, 05 2020

डोटी,पौष -२० ।
आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा आइतबार ४ जनाको उम्मेदवारी परेको छ ।
यस प्रदेशबाट राष्ट्रिय सभाका दुइ जना सदस्यका लागि हुने निर्वाचनमा सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाट दुइ र प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट २ जना गरी चार जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय श्रोतले जनाएको छ ।
जस अनुसार नेकपाबाट कैलालीका शारदा भट्ट र अछामका तारामान स्वारले उम्मेदवारी दर्ता गराएका छन् भने काँग्रेसबाट कैलालीका तुलसी देवकोटा र बैतडीका प्रताप ठगुन्नाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय डोटीका निमित्त जिल्ला निर्वाचन अधिकारी दलबहादुर मलासीले जानकारी दिए ।


नेकपाले आफ्ना पार्टीका उम्मेदवारहरुको मनोनयन दर्ताका लागि सिलगढीस्थित पार्टी कार्यालयबाट निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालत डोटीसम्म बाजागाजा सहितको टीम लगेको थियो ।
सुदूरपश्चिमबाट महिला एक र अन्य एक गरी दुइ सदस्यका लागि हुने निर्वाचनको मतदान स्थल सिलगढीको पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयलाई तोकिसकिएको छ । जहाँ दुइ वटा मतदान केन्द्र हुनेछन् ।


संविधान शुरु भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुइ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्षको हुने गरी पदावधि कायम हुने संवैधानिक व्यवस्था छ । जस अनुसार गोला प्रथाबाट नेकपाबाट महिला कोटामा निर्वाचित कमलाकुमारी ओलीको र नेपाली कांग्रेसबाट अन्य कोटामा निर्वाचित बद्रीप्रसाद पाण्डेको दुई वर्ष कार्यकाल भाग परेको थियो । दुवै सदस्यको पदावधी आउँदो फागुन २० गते सकिन लागेकाले सोहि पदमा नयाँ सदस्य चयन गर्न अहिले निर्वाचन हुन लागेको छ ।
संविधानको धारा ८६ (२) र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ४ (१) अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख÷उपप्रमुख र गाउँपालिका अध्यक्ष÷उपाध्यक्षले मतदान गर्न पाउँदछन् । जस अनुसार सुदूरपश्चिममा प्रदेश सभा सदस्य ५३ र यस प्रदेशका ८८ वटा स्थानीय तहका १ सय ७६ प्रमुख तथा उपप्रमुखहरु गरी २ सय २९ जनाले मतदान गर्न पाउनेछन् । प्रदेश सभाका ५३ सदस्यहरुमध्ये नेकपाका ३९, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टी (राजपा) का दुइ जना छन् ।


त्यसैगरी ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये साविकको नेकपा एमालेका ३९ प्रमुख र ४४ उपप्रमुखसहित ८३ र साविकको माओवादीका ११ प्रमुख र ९ उपप्रमुख गरी २० समेत गरि अहिलेको नेकपासँग १ सय ३ मत छन् । नेपाली कांग्रेससँग ३७ प्रमुख र ३४ उपप्रमुख गरी जम्मा ७१ मत छन् । समाजवादी पार्टी (साविकको मधेशी जनअधिकार फोरम) का प्रमुख एक र उपप्रमुख एक गरी दुइ जना छन् ।
बहुमतीय प्रणालीबाट हुने यस निर्वाचनमा मतदाताको अंक गणीत हेर्दा नेकपाको जीत सुनिश्चित देखिन्छ ।
निर्वाचन तालिका अनुसार पौष २१ गते उम्मेदवारी विरुद्ध दावी विरोध, २२ गते उजुरीमाथि छानविन, २३ गते उम्मेदवारको नामावली प्रकाशन, २४ गते उम्मेदवारी फिर्ता, २५ गते अन्तिम नामावली प्रकाशन एवं उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान र माघ ९ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...