सुदूरखबर डटकम

पश्चिम सेती जलविद्युत् लाई नयाँ ढाँचामा एक हजार २०० मेगावाटको आयोजना बनाउने तयारी

label समाचार प्रकाशक query_builder January, 05 2020

धनगढी – लामो समयदेखि उल्झनमा परेको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनालाई नयाँ ढाँचामा अगाडि बढाउने तयारी गरिएको छ । एसआर सिक्स नाम दिइएको अर्को आयोजना समेत जोडेर एक हजार २०० मेगावाट क्षमताको संयुक्त आयोजना निर्माण गर्ने तयारी गरिएको छ ।

चिनियाँ कम्पनी थ्री गर्जेजले सन् २०१२ मा सो आयोजना जिम्मा लिएको भएपनि पुनःर्वास, पुनःस्थापना लगायतका समस्या देखाइ हात झिकेको थियो । चिनियाँ कम्पनी फिर्ता भएपछि बोर्ड बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी सम्मिलित कार्यदल बनाई लगानीको ढाँचा तय गर्ने जिम्मेवारी दिएको थियो । लगानी सम्मेलनका क्रममा नै सो आयोजना समेत ‘प्रोजेक्ट शो केश’ गरिएको थियो ।

‘विभिन्न उपायको खोजी गर्दै जाँदा अर्को आयोजना समेत जोडेर क्षमता बढाउँदा लगानीका लागि सम्भाव्य देखियो, दुई वटा अन्तरराष्ट्रिय कम्पनीले चासो देखाएका थिए । तीमध्ये एक कम्पनी छनोट भएको छ”, प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने । आवश्यक प्रक्रिया पूरा गरी निकट भविष्यमा नै आयोजना अगाडि बढाउने गरी निर्णय गरिने र आयोजना निर्माणमा जाने वातावरण बन्ने उनको भनाइ छ ।

‘आयोजना आकर्षक रहँदैरहँदा पनि हाम्रो निरन्तर प्रयासका बाबजुद पनि चिनियाँ कम्पनीले हात झिेकेको थियो, त्यसलाई लयमा ल्याउन हामीले सार्थक प्रयास गरिरहेका छौँ’, प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने, ‘छनोट भएको कम्पनीसँग छिट्टै सम्झौता गर्छौं ।’ तर उनले कुन कम्पनी छनोट भएको हो भन्नेबारेमा जानकारी दिन चाहेनन् । उनले भने, ‘हामी संवादमा नै छौँ, निकट भविष्यमा नै जानकारी पाइहाल्नुहुन्छ ।’

  • रासस
तपाईंको प्रतिक्रिया दिनुस्
Loading...