
सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशी पक्राउ परेका छन् । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।यसअघि जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो। उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछसमेत गरेको थियो।

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ५० प्रतिशत सेयर थियो। टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए। उनले छाडेपछि उक्त सेयर पनि अध्यक्ष जिबी राईकै नाममा रह्यो।

जोशीमाथि सहकारीको बचत अपचलनबारे सिआइबीले पनि अनुसन्धान गरेको थियो। संसदीय छानबिन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत रकम आएकोबारे आफू अनविज्ञ रहेको जोशीले बयान पनि दिएका थिए।






























