
हङकङको सिस्सर मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले इंग्ल्याण्डलाई पराजित गर्दै शानदार जित हासिल गर्यो । इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जुन नेपालले केवल ४.२ ओभरमै पूरा गर्दै ९९ रन बनायो र खेल आफ्नो पक्षमा पार्न सफल भयो।

इंग्ल्याण्डका ब्याट्सम्यान बोपाराले आक्रामक खेल प्रदर्शन गर्दै १२ बलमा ४९ रन बनाएर आफ्नो टोलीलाई प्रतिस्पर्धात्मक स्कोर प्रदान गरेका थिए। तर, बाँकी इंग्ल्याण्डका खेलाडीहरू रनको गति कायम राख्न असफल भए।
नेपालका खेलाडीहरूले प्रारम्भदेखि नै आक्रामक खेल प्रस्तुत गरे। सन्दीप जोराले केवल १२ बलमै ५० रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। साथै, राशिद खानले ५ बलमा २१ रन बनाए, तेसै गरी लोकेश बमले ११ बलमा २० रन बनाएर नेपालको जितलाई सहज बनाए। दुबै खेलाडीको उत्कृष्ट प्रदर्शनले नेपाललाई केही ओभरमै लक्ष्यसम्म पुर्यायो।


यो जितले नेपाली क्रिकेट समर्थकहरूलाई मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपाललाई उच्च स्थानमा पुर्याएको छ। यस द्रुत गतिमा हासिल गरेको जितले नेपाली क्रिकेटको सम्भावना र खेलाडीहरूको क्षमता उजागर गरेको छ।
यो ऐतिहासिक जितले नेपाली क्रिकेटको उचाइ थप बढाएको छ, जसले आगामी खेलहरूमा नेपाली टोलीलाई आत्मविश्वासको बलियो आधार प्रदान गर्नेछ।































