
एनपिएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्। बिहानीको समयमा आठौं खेलका रुपमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तथा नवौं खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा रहँदा जनकपुर अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ। आफ्नो पहिलो खेलमा चितवन राईनोजसँग ८७ रनको फराकिलो अन्तरको हार व्यहोरेको कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेलको खोजीमा छ।

आजै हुने अर्को खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन्। यी दुई बीचको खेल दिउँसो १ बजे हुनेछ। पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा स्टारले भरिएको कर्णालीलाई ३ विकेटले हराउँदै उत्कृष्ट पुनरागमन गरेको थियो।

स्थानीय खेलाडीले भरिएको सुदुरपश्चिमले पहिलो खेलबाटै कमजोर नरहेको सन्देश दिइसकेको छ। विराटनगरलाई हराउँदै शान्दार सुरुवात गरेको सुदुरपश्चिममा अन्तिमसम्म पनि स्तरिय ब्याटिङ गर्न सक्ने खेलाडी छन्।






























