
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दिउँसो चितवन राइनोज र विराटनगर किंग्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवनले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ।

चितवन प्लेअफ दौडमा रहेको टिम हो भने विराटनगरका लागि यो खेल प्रतिष्ठाका लागि महत्त्वपूर्ण बनेको छ। एनपीएल अंक तालिकामा चितवन ६ अंकसहित तेस्रो स्थानमा रहेको छ। समान अंक भए पनि रनरेटका आधारमा कर्णाली चौथो स्थानमा छ। दुई अंकसहित विराटनगर तालिकाको पुछारमा छ।

जनकपुर रोयल्सले १० अंकसहित शीर्ष स्थान कब्जा गरेको छ भने सुदूरपश्चिम खपरी ८ अंकसहित दोस्रो स्थानमा रहेको छ।

शुक्रबार बिहानको पहिलो खेलमा भने लुम्बिनी लायन्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। लुम्बिनी प्लेअफ दौडबाट बाहिरिइसकेको छ भने कर्णालीका लागि यो खेल जित्नैपर्ने दबाब छ। यो खेल बिहान ९ बजे सुरु हुनेछ। यस दिनका दुबै खेलले प्लेअफ समीकरणलाई थप रोचक बनाउन सक्छ।






























