दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे मुख्यमन्त्री र संघर्ष समितिबीच छलफल

Image
Nisarga Hospital

अत्तरिया:दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समिति र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच आइतबार धनगढीमा छलफल भएको छ। छलफलमा विश्वविद्यालयको विधेयक चाँडो पास गराउन दबाब दिने, प्रदेश मातहतका अस्पतालहरूलाई गेटा अस्पतालमा गाभ्ने, र आरक्षणको व्यवस्थालगायत विषयमा विचार आदानप्रदान गरिएको छ।

CP Hospital Dhangadhi

संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले प्रदेश सरकारले सेती र महाकाली अस्पताललाई गेटा अस्पतालमा गाभेर शिक्षण अस्पताल सञ्चालन गर्न देखाएको तत्परता प्रति धन्यवाद व्यक्त गरे। उनले विधेयक संसदमा पेस हुने तयारीमा रहेको उल्लेख गर्दै, पास भएलगत्तै मेडिकल शिक्षण सुरु गर्न आवश्यक वातावरण तयार गर्न सरकारको सक्रियता अपरिहार्य रहेको बताए।

पाण्डेले भने, “विधेयक पास भएपछि ३ सय शय्याको अस्पताल बनाउन समय लाग्ने भएकाले तत्काल सेती र महाकाली अस्पताललाई गेटामा मर्ज गरी पठनपाठन सुरु गर्नुपर्ने आवश्यकता छ।”

मुख्यमन्त्री शाहले हिउँदे अधिवेशनबाट विश्वविद्यालयको विधेयक पास हुने अपेक्षा व्यक्त गर्दै, शैक्षिक सत्र सुरु गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए। उनले भने, “स्वास्थ्य मन्त्री, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतका नेताहरूसँग यसबारे छलफल भइरहेको छ। सेती अस्पताललाई गेटामा गाभ्ने प्रक्रिया अघि बढिसकेको छ। आवश्यक परे महाकाली र टीकापुर अस्पताल पनि मर्ज गरिनेछ।”

nawajiwan
Attariya Hospital

मुख्यमन्त्रीले विश्वविद्यालय विधेयकमा सुदूरपश्चिमका लागि आरक्षणको व्यवस्था गर्न सांसदहरूसँग संवाद भइरहेको र प्रदेश सरकारको भूमिकालाई सुनिश्चित गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।

संघर्ष समितिले विधेयक पास भएपछि विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कदम चाँडो चाल्न प्रदेश सरकारलाई आग्रह गरेको छ। छलफलले विश्वविद्यालय स्थापनाको प्रक्रियालाई तीव्रता दिने र प्रदेशका अस्पतालहरूलाई एकीकृत गर्दै शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने निष्कर्ष निकालेको छ।