
यस वर्ष देशभर धान उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ दशमलव ०४ प्रतिशतले वृद्धि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। पोहोर ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो।

समयमै मनसुन भित्रिनु, उन्नत बीउको प्रयोग, बेलैमा मलखादको उपलब्धता, र समुचित व्यवस्थापनका कारण धान उत्पादनमा वृद्धि भएको हो। मन्त्रालयका अनुसार, यस वर्ष धान खेती गरिएको क्षेत्रफल केही घटे पनि उत्पादकत्वको वृद्धि सुखद रहेको छ।

- धान रोपाइँ क्षेत्रफल:
यस वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ, जुन गत वर्षको तुलनामा १ दशमलव २८ प्रतिशतले कम हो। - औसत उत्पादकत्व:
४ दशमलव १९ मेट्रिक टन प्रतिहेक्टर, अहिलेसम्मकै उच्च विन्दु।
उत्पादन वृद्धि भएका र घटेका प्रदेश
- धान उत्पादन बढेका प्रदेशहरू:
कोशी, मधेश, लुम्बिनी, र सुदूरपश्चिम। - धान उत्पादन घटेका प्रदेशहरू:
गण्डकी, बाग्मती, र कर्णाली।

उत्पादनमा गिरावटका कारण
- कर्णालीमा रुकुम पश्चिममा धान लगाएको क्षेत्रफल घट्दा उत्पादन कम भएको छ।
- गण्डकीमा नवलपरासी (पूर्व) मा बर्खे धानको बाला नलाग्ने समस्या र लमजुङमा क्षेत्रफल परिमार्जनका कारण उत्पादन घटेको हो।
- बाग्मतीमा असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले धानबालीमा ठूलो क्षति पुर्याएको छ।
अविरल वर्षा र कतिपय ठाउँमा रोगकीराको समस्या भए पनि समग्रमा उत्पादनमा सुधार हुनु सुखद रहेको मन्त्रालयले जनाएको छ। यस वर्षको उत्पादनले कृषि क्षेत्रमा सकारात्मक संकेत दिएको छ।
धान उत्पादनमा सुधारको यो लहरलाई कायम राख्न मन्त्रालयले उन्नत बीउ, मलखादको व्यवस्थापन, र सिँचाइ सुविधामा थप ध्यान दिने जनाएको छ।































