
न्युजिल्यान्ड र भारतले च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। सोमबार रावलपिण्डीमा भएको खेलमा न्युजिल्यान्डले बंगलादेशलाई ५ विकेटले पराजित गरेपछि यी दुई टोलीले सेमिफाइनलमा प्रवेश गरेका हुन्।

समूह ‘ए’ मा रहेका न्युजिल्यान्ड र भारतबीच शीर्ष स्थानका लागि मार्च २ मा प्रतिस्पर्धा हुनेछ। यो खेलको नतिजा जे भए पनि, भारतले मार्च ४ मा दुबईमा पहिलो सेमिफाइनल खेल्नेछ भने न्युजिल्यान्डले मार्च ५ मा दोस्रो सेमिफाइनल खेल्नेछ।
प्रतियोगिताबाट बाहिरिइसकेका बंगलादेश र पाकिस्तानले बिहीबार रावलपिण्डीमा प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।


सोमबारको खेलमा, बंगलादेशले पहिले ब्याटिङ गर्दै २३६/९ को स्कोर खडा गरेको थियो। नजमुल होसैन शान्तोले ७७ रन र जाकेर अलीले ४५ रनको योगदान दिए। न्युजिल्यान्डका लागि माइकल ब्रेसवेलले ४ विकेट लिए। जवाफमा, न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। रचिन रविन्द्रले ११२ रनको शानदार शतकीय पारी खेले भने टम लाथमले ५५ रन जोडे।
समूह ‘बी’ मा, सबै टोलीले एक/एक खेल खेलेका छन्। अस्ट्रेलिया र दक्षिण अफ्रिकाले दुई/दुई अंक जोडेका छन् भने इंग्ल्यान्ड र अफगानिस्तान अंकविहीन छन्।



















