
धनगढी एफसीले आगामी नेपाल सुपर लिग (एनएसएल) सिजनका लागि नेपाली क्रिकेट टोलीका स्टार खेलाडी डिपेन्द्रसिंह ऐरीलाई क्लबको एम्बेसडर नियुक्त गरेको छ।

सुदूरपश्चिम प्रदेशका ऐरीले नेपालका लागि एक दिवसीय (ओडीआई) र अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा प्रतिनिधित्व गर्दै २ शतक र १२ अर्धशतक प्रहार गरिसकेका छन्। साथै, बलिङमा ८७ विकेट लिएका छन्।
धनगढी एफसीले यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिश रत्न छुन्जुलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ। त्यसैगरी, लेबनानी प्रिमियर लिग क्लब बुरज एफसीका स्ट्राइकर अहमद हिजाजीलाई लोनमा साइन गरेको छ। हिजाजीले एनएसएल २०२३ मा धनगढी एफसीबाट खेल्दै ४ गोल गरेका थिए र टिमलाई फाइनलसम्म पुर्याएका थिए।


धनगढी एफसी एनएसएल २०२१ र एनएसएल २०२३ दुवै संस्करणमा उपविजेता बनेको थियो।
क्लबका अध्यक्ष सुवास शाहीले ऐरीलाई एम्बेसडर नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै भने, “डिपेन्द्रसिंह ऐरीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका छन्, जुन सम्पूर्ण सुदूरपश्चिम प्रदेशका लागि गर्वको विषय हो।”
नयाँ एम्बेसडर ऐरीले पनि क्लबसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताउँदै भने, “धनगढी एफसीको एम्बेसडर बन्न पाउँदा म धेरै उत्साहित छु। हामी सुदूरपश्चिमका खेल प्रेमीहरूलाई सम्झनलायक सिजन दिने प्रयास गर्नेछौँ।”



















