
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले स्व. टीका दत्त जोशीको १३ औं पुण्यतिथिमा शोकसभा गरेको छ ।

मंगलबार संस्थाद्वारा आयोजित शोक सभामा स्व. जोशीले खानेपानी, वन क्षेत्र, सामुदायीक सिकाई केन्द्र लगायत विभिन्न क्षेत्रमा पु-याएको अतुलनीय योगदान मेहनतप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । स्व. टीकादत्त जोशी, अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका संस्थापक सदस्य एवम् वर्तमान अध्यक्ष थिए ।

शोक सभामा संस्थाका कार्यवाहक अध्यक्ष शेरबहादुर विष्टले संस्थाले एक सरल, मिलनसार र मेहनती व्यक्ति गुमाएको बताए । उनले स्वर्गीय जोशी संस्थाकोहितमा सधैं अग्रसर थिए र उनको योगदान अमूल्य थियो । विष्टले जोशीले सुरु गरेका कार्यलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रगति पथमा अघि बढाउने बताए ।

यस्तै संस्थाले स्व. जोशीको उपचार र क्रिया खर्चको स्वरूपमा उनको परिवारलाई ३ लाख १५ हजार रुपैयाँ बराबरको चेक उपलब्ध गराएको जानकारी प्रशासन प्रमुख यादव राज फुलाराले दिएका थिए । शोकसभामा खानेपानी उपभोक्ता समिति पदाधिकारी, सल्लाहकार र कर्मचारी सहितका व्यक्तिहरूले पनि श्रद्धा व्यक्त गरेका थिए ।





























