
अत्तरिया: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज दावी विरोधको कार्यतालिका रहेकोमा कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएको छ ।

संगठन दर्ता गर्दा ९ वटा संगठन दर्ता भएकोमा नोमिनेसनमा समानुपातिक तर्फ पनि गठबन्धन गरि अखिल संयुक्तबाट नोमिनेसन गरिएपछि विवाद सिर्जना भएको हो ।
अनेरास्ववियु,अखिल क्रान्तिकारी लगायतले गठबन्धन गरेकोमा समानुपातिकतर्फ गठबन्धन गर्न नमिल्ने नेविसंघको भनाई छ । आज ११ बजेदेखि १ बजेसम्म दावी विरोधको समय तोकिएकोमा नेविसंघका एलआर ओझाले विरोधसहितको पत्र दर्ता गरेका हुन् ।


संयुक्त अखिल दर्ता नै नभएकोले प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको उमेदवारी खारेजी गर्नुपर्ने उनले माग राखेका छन् । उक्त पत्रमाथि सर्वपक्षिय वैठकले छलफल गरेको भएपनि विना निष्कर्ष टुंगिएको छ ।
भोलि फेरि वैठक बस्ने जनाइएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा चैत २७ गते निर्वाचन हुँदैछ ।



















