
हाल देशमा पश्चिमी वायु र स्थानीय प्रणालीको प्रभाव सक्रिय रहेको छ। यसका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूमा छिटपुट वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस्ता मौसमी गतिविधिका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि कार्य, सडक यातायात र हवाई उडानहरूमा प्रभाव पर्न सक्ने सम्भावना भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।





























