
चेन्नई सुपर किंग्सले कप्तान महेन्द्र सिंह धोनीको उत्कृष्ट प्रदर्शनको सहारामा लखनउ सुपर जेन्ट्सलाई पाँच विकेटले पराजित गर्दै लगातार हारको श्रृंखला तोडेको छ। सोमबार भएको खेलमा १६७ रनको लक्ष्य पछ्याउँदै चेन्नईले १९.३ ओभरमा पाँच विकेट गुमाएर १६८ रन बनायो।

चेन्नईका लागि शिवं दुबेले ३७ बलमा अविजित ४३ रन बनाए भने कप्तान धोनीले ११ बलमा नटआउट २६ रन जोड्दै खेलको नाटकीय समापन गरे। धोनी प्लेयर अफ द म्याच घोषित भए। सुरुवातमा साइक रसिद र रचिन रविन्द्रले आक्रामक ब्याटिङ गर्दै पहिलो विकेटका लागि २९ बलमा ५२ रनको साझेदारी गरे। रसिदले २७ रन र रचिनले ३७ रन बनाए।

लखनउका स्पिन बलरहरूले चेन्नईलाई दबाबमा राख्न प्रयास गरे। दिगवेश राठीले ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिए भने रवि विस्नोइले ३ ओभरमा १८ रन दिएर दुई विकेट झारे। आइडन म्याक्रमले पनि एक विकेट लिए। चेन्नईको रनरेट बिचको ओभरमा घटेको थियो, तर १५ औं ओभरपछि धोनीको आक्रमक ब्याटिङले खेल पल्टायो।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। ऋषभ पन्तले ४९ बलमा ६३ रन, मिचेल मार्सले ३० र आयुस बडानीले १७ रनको योगदान गरे। चेन्नईका पाथिरना र जडेजाले समान दुई विकेट लिए। नुर अहमदले विकेट नलिए पनि चार ओभरमा मात्र १३ रन खर्चिए। जितसँगै चेन्नईले चार अंक जोड्दै लिग तालिकाको पुछारमा भए पनि आत्मविश्वास बढाएको छ।




















