
सनराइजर्स हैदरावादले शुक्रबार चेन्नई सुपर किङ्सविरुद्धको खेलमा पाँच विकेटको शानदार जित दर्ता गरेको छ। यो जित चेन्नईको घरेलु मैदानमा हैदरावादको अहिलेसम्मकै पहिलो हो।

चेन्नईले दिएको १५५ रनको लक्ष्य हैदरावादले ८ बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा पूरा गर्यो। टोलीका लागि इशान किसनले ४४ रन बनाए भने कामिन्डु मेन्डिसले अविजित रहँदै २२ बलमा ३२ रनको योगदान गरे।
हैदरावादको बलिङतर्फ हर्सल पटेलले उत्कृष्ट प्रदर्शन गरे। उनले चार ओभरमा २८ रन खर्चेर चार विकेट लिए र ‘प्लेयर अफ द म्याच’ घोषित भए।


टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १५४ रन बनाएको थियो। डेवाल्ड ब्रेभिसले ४२ रन र कान्छा खेलाडी आयुष माथ्रेले ३० रनको योगदान दिए। अन्य ब्याट्सम्यान खास प्रभाव पार्न सकेनन्।
चेन्नईका लागि नुर अहमदले चार ओभरमा ४२ रन खर्चेर दुई विकेट लिए भने अन्सुल खम्बुजले ३ ओभरमा १६ रन दिँदै एक विकेट झारे।
जितसँगै हैदरावाद ६ अङ्कसहित तालिकाको आठौँ स्थानमा पुगेको छ भने चेन्नई चार अङ्कसहित पुछारमा रहेको छ।






























