
देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही कारणले हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानमा तथा अन्य पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि महाशाखाले जनाएको छ। यस्तै, हिजो गुल्मी, स्याङ्जा र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको विभागले जनाएको छ।

मौसमको यस्तो अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।




















