
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीको पुलबाट जिप खस्दा गएराति तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा व्यास–५ पाटनका अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, २२ वर्षीय कुमार थापा र २०/२२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिएका छन्।

जिप चालक व्यास नगरपालिका–४ का २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन्। घाइतेमध्ये धीरजको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइतेहरूको उद्धार नेपाल प्रहरी र नेपाली सेनाले गरेका थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।



















