
एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ को सुदूरपश्चिम क्षेत्रीय छनोट प्रतियोगितामा कैलालीले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार सम्पन्न खेलमा कैलालीले दार्चुलालाई ९४ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलको लागि बलियो दाबी प्रस्तुत गरेको हो।

पहिलो खेलमा अछाममाथि ७१ रनको जित निकालेको कैलालीले सोमबार दार्चुलाविरुद्ध एक सय ३१ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दार्चुला १६.३ ओभरमै मात्र ३६ रनमा समेटिँदा कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
कैलालीका रुद्रप्रसाद आचार्यले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै पाँच विकेट हात पार्दा, उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको स्कोरर नुरेन अन्सारीले जानकारी दिए।

पहिलो ब्याटिङ गरेको कैलालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो। कप्तान अविरल विकले ५३ रनको अविजित अर्धशतकीय पारी खेले। दार्चुलाका बलरहरूबाट रोशन मिश्र र पुरषोत्तम रावलले दुई–दुई विकेट लिए।

दार्चुलाको यो दोस्रो लगातार हार हो र सोसंगै प्रतियोगिताबाट बाहिरिएको छ। अर्कोतर्फ, लगातार दुई जितसँगै कैलाली फाइनल समीकरणमा बलियो स्थितिमा पुगेको छ।
सोमबार नै हुने भनिएको अछाम र कञ्चनपुरबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्। आज हुने कैलाली र कञ्चनपुरबीचको खेल निर्णायक हुनेछ, जसले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लगाउनेछ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा जेठ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल क्रिकेट संघमा आबद्ध सुदूरपश्चिमका आठ जिल्लाले सहभागिता जनाएका छन्।
प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रदेश टोलीमा समावेश गरिने सुदूरपश्चिम क्रिकेट संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्। एसियन क्रिकेट काउन्सिल (एसीसी) को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले यही महिनाभित्र राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछ।



















