
देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशका विभिन्न भू-भागमा बदली, मेघगर्जन/चट्याङसहित वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको जानकारी छ।
शुक्रबार (जेठ १६) का लागि मौसम पूर्वानुमान:
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्नेछ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
राति:
कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी प्रदेशका धेरै स्थानहरूमा र अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना।
कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
उच्च-पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा वा हिमपात हुन सक्छ।
२४ घण्टाका लागि चेतावनी तथा परामर्श:
मौसमी प्रणालीको प्रभावका कारण आगामी २४ घण्टामा वर्षा, हिमपात तथा चट्याङको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवनमा असर पर्न सक्छ।
मौसम विभागले जनसाधारणलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ।




















