
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, विक्रि, वितरण, आयात र प्रयोगमा पूर्ण रूपमा रोक लगाउने घोषणा गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्मा नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्दै मंसिर १ गतेदेखि यो निर्णय कार्यान्वयनमा आउने जानकारी दिएका हुन्। उनले प्लास्टिकका कारण बढ्दो वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न यस्तो कदम चालिएको स्पष्ट पारे।
हाल देशका केही स्थानीय तहहरूले स्वविवेकमा प्लास्टिकजन्य वस्तुहरूमा प्रतिबन्ध लगाइसकेका छन्। अब संघीय सरकारकै नीति अनुसार यो व्यवस्था देशभर लागू हुने भएको हो।


सरकारले आगामी वर्षदेखि प्लास्टिकको विकल्पमा प्रयोग गर्न सकिने वातावरणमैत्री सामग्रीको उत्पादन तथा प्रवर्द्धनलाई प्राथमिकता दिने पनि जनाएको छ।
यो निर्णयले दीर्घकालीन रूपमा फोहर व्यवस्थापन, जलवायु संकट न्यूनीकरण र स्वच्छ वातावरण कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।




























