
आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। नेदरल्याण्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।

नेपालका लागि आरिफ शेखले ७ चौका र २ छक्का सहित ७८ रनको उपयोगी योगदान दिए। दीपेन्द्र सिंह ऐरी ३८ रनमा अविजित रहे भने कुशल भुर्तेलले २५, रोहित पौडेलले २३ र आसिफ शेखले १९ रन बनाए।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा २२५ रन बनाएको थियो। नोहा कोर्सले ४८ र कप्तान स्कट एडवार्ड्सले ४६ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए। जितसँगै नेपालले १४ खेलमा १० अंक बनाउँदै सातौं स्थान कायम राखेको छ।



















