
मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। इदुल फित्रपछिको ७०औँ दिन मनाइने यस पर्वमा मुस्लिम समुदायले बिहानै मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने, शुभकामना आदान–प्रदान गर्ने परम्परा छ।

यो पर्व इस्लाम धर्मका पैगम्बर इब्राहिमले अल्लाहको आदेशमा आफ्ना छोरा इस्माईललाई बलि दिन तयार भएको ऐतिहासिक घटनाको सम्झनामा मनाइन्छ। धार्मिक मान्यताअनुसार अन्ततः अल्लाहले इस्माईलको सट्टा स्वर्गमा पालिएको दुम्बाको बलि स्वीकार गरेका थिए। यसै आधारमा आज मुस्लिम धर्मावलम्बीहरूले धर्मले अनुमोदन गरेका जनावरको कुर्बानी (बलि) दिन्छन्।

कुर्बानीको मासु तीन भागमा बाँडिन्छ—गरीब, आफन्त र आफूले खाने गरी। बकर ईद तीन दिनसम्म मनाइन्छ।

सार्वजनिक मस्जिदहरूमा भीड बढेको छ भने मक्का-मदिना तीर्थयात्राको पनि विशेष महत्व रहेको बताइएको छ। गृह मन्त्रालयले हज यात्राको व्यवस्था गर्ने हज समिति सञ्चालनमा ल्याएको छ। सरकारले आज बकर ईदको अवसरमा सार्वजनिक बिदा दिएको छ।

















