
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही भागमा मनसुनी वायु सक्रिय छ भने देशको पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

यसको असरस्वरूप कोशी प्रदेशसहितका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ। कोशी र बागमती प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।


त्यस्तै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षाको सम्भावना भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
वर्षाको असर जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा पर्न सक्नेछ।



















