
देशभर मनसुनी वायुको सक्रिय प्रभावले व्यापक मौसमी प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थानमा र अन्य क्षेत्रमा थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि मौसम यस्तै रहनेछ। कोशीदेखि सुदूरपश्चिमसम्मका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले भारी वर्षाका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक र हवाई यातायात प्रभावित हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

















