
मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। एसियाली क्रिकेट परिषद् (ACC) को वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल सिङ्गापुरसँग खेल्दैछ।

नेपाली समयअनुसार बिहान ७:४५ बजे मलेसियाको युकेएम ओभल मैदानमा नेपाल र सिङ्गापुरबीचको खेल सुरु हुने छ। नेपाल यु–१६ टोलीको कप्तानी विपिनप्रसाद शर्माले गर्दै छन्। नेपाल क्रिकेट संघ (क्यान) ले केही दिन अघि शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो।
टोलीमा उपकप्तान सुर्याशुं कोइराला रहेका छन् भने अन्य खेलाडीहरूमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन्। प्रशिक्षकको भूमिकामा दिपेन्द्रबहादुर चन्द छन्।


प्रतियोगितामा १० टोली सहभागी छन्। समूह ‘ए’ मा नेपालसँगै सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान रहेका छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।
नेपालले दोस्रो खेल मङ्गलबार जापानसँग, त्यसपछि असार १५ गते इण्डोनेसियासँग तथा अन्तिम समूह चरणको खेल असार १७ गते भुटानसँग खेल्ने तालिका छ।
हालसम्म सम्पन्न तीन संस्करणमध्ये सबैमा नेपाल च्याम्पियन बनेको थियो। यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित नेपाली टोली मैदान उत्रिएको छ।




















