
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रममार्फत मनाइँदै छ। नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका पार्टीले श्रद्धाञ्जलीसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गरिरहेका छन्।

रामेछापमा जन्मिएका पुष्पलालले कार्ल मार्क्स र एङ्गेल्सद्वारा लिखित कम्युनिष्ट म्यानिफेस्टो नेपालीमा अनुवाद गर्दै नेपाली समाजको वर्गीय विश्लेषण र नौलो जनवादको अवधारणा अघि सारेका थिए। सन् १९४९ (२००६ साल) मा भारतको कलकत्तामा उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए।

नेता मुकुन्द न्यौपाने, राम कार्की र बेदुराम भुसाललगायतले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनको बीजारोपण र प्रजातन्त्र स्थापनामा खेलेको भूमिकाको चर्चा गरे।

पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो।


















