सप्तकोशीको बढ्दो बहावले बेलका क्षेत्रमा डुबानको उच्च जोखिम, प्रशासन सतर्क

Image
Nisarga Hospital

लगातार तीन दिनदेखि भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्ररूपमा बढ्दै जाँदा उदयपुरको बेलका नगरपालिका डुबानको उच्च जोखिममा परेको छ। बेलका–२, ३, ६, ८ र ९ नम्बर वडाका सप्तकोशी आसपासका बस्तीहरू नदीको कटान र डुबानको सम्भावित खतरामा छन्।

CP Hospital Dhangadhi

बाढीको जोखिम बढेसँगै बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले ती क्षेत्रमा नदीले कटान गर्न थालेको जानकारी दिइन्। नदीको बहाव अझै बढ्ने संकेत देखिएकोले सावधानी अपनाउनुपर्ने उनले बताइन्।

स्थिति गम्भीर बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद लुइटेलको नेतृत्वमा सुरक्षा निकायसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणपछि स्थानीयवासीलाई सतर्क रहन र आवश्यक सुरक्षात्मक उपाय अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।

nawajiwan
Attariya Hospital

बेलकाको कोठु, डुम्रीबोट, सिसौली लगायतका क्षेत्रमा कोशीको पानी किनार नाघेर बस्ती नजिक आउन थालेको जनाइएको छ। डुबानको जोखिमका कारण स्थानीयलाई सुरक्षित स्थानमा सर्न र सतर्कताका साथ बस्न निर्देशन दिइएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) हरिहरनाथ योगीका अनुसार कुनै पनि आपतकालीन अवस्थामा उद्धार तथा राहत कार्यमा खटिन सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी लुइटेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सक्रिय मोडमा राखिएको छ। जिल्ला प्रशासन, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरूले संयुक्त रूपमा पूर्वतयारी र जोखिम मूल्यांकन थालेको नगरप्रमुख अशोक कार्कीले बताएका छन्।