
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको तयारीसँगै चुनावी माहोल तातेको छ। आगामी भदौ २८ गते हुने निर्वाचनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने स्पष्ट संकेत देखिएको छ।

संघको वर्तमान वरिष्ठ उपाध्यक्ष पुस्कर राज ओझा र पूर्व महासचिव रुपेस स्वाँर अध्यक्ष पदका लागि आमनेसामने हुने पक्का भएको छ। स्वाँर नेतृत्वको टिमले पदाधिकारीहरूको नाम पनि टुङ्ग्याइसकेको छ।
स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशव जोशी, उपाध्यक्षमा लक्ष्मण पन्त, अनिल भुजानिया, राधिका चौधरी र सिद्धराज पनेरु उम्मेदवार बनेका छन्। त्यस्तै, महासचिवमा शुरेस पाण्डेय, सचिवमा प्रकाश चन्द र कोषाध्यक्षमा तिलक बोहरा उम्मेदवार रहनेछन्। कार्यसमिति सदस्यको नाम भने चाँडै सार्वजनिक गर्ने तयारी गरिएको स्वाँरले बताएका छन्।


अध्यक्ष पदका उम्मेदवार स्वाँरले सचिवालय सञ्चालनसँगै सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार सुरु गरिसकेका छन्। व्यवसायिक क्षेत्रका सरोकारवालाहरूले यो निर्वाचनलाई संघको आगामी नीति तथा गतिविधि निर्धारणमा महत्वपूर्ण मानिरहेका छन्।
संघमा करिब एक हजारभन्दा बढी सदस्य रहेका छन्। विगतका निर्वाचनहरूमा जस्तै यसपालि पनि दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

















