
सुदूरपश्चिम प्रदेशको मौलिक चाड गौरा पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पहिलो दिन महिलाले पाँच प्रकारका अन्न–गेडागुडी (बिरुडा) भिजाउने परम्परा भएकाले यस दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाई त्यसमा बिरुडा राखिन्छ, जसलाई गौरीदेवीको प्रसाद मानिन्छ।

जानकार खगेश्वरी साउदका अनुसार पुत्रदा एकादशीको व्रतपछि भदौको बिरुडा पञ्चमीबाट गौरा पर्व औपचारिक रूपमा प्रारम्भ हुन्छ। यस पर्वमा महिलाले एक महिनाअघि देखि शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने गर्छन्। पुरुषको व्रतबन्ध झैं महिलाले यस दिन दुवधागो (यज्ञोपवित) लगाउने चलन छ।

गौरा पूजाअर्चनाबाट श्रीमान् तथा परिवारजन निरोगी, दीर्घायु हुने र घरमा सुख–समृद्धि बढ्ने विश्वास गरिन्छ। आजदेखि गाउँगाउँमा देउडा खेल्ने प्रचलन पनि सुरु हुन्छ। प्राचीनकालदेखि पर्वतराज हिमालयकी पुत्री पार्वतीलाई भगवान् शिवकी अर्धाङ्गिनीका रूपमा गौरा देवी मानेर पूजाआर्चना गर्ने परम्परा रहिआएको छ।



















