
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदले सामूहिक राजीनामाको घोषणा गरेका छन्। पार्टीले संघीय संसद् असफल भएको निष्कर्ष निकाल्दै आगामी निकासका लागि शीघ्र अन्तरिम नागरिक सरकार गठन गर्न प्रस्ताव अघि सारेको हो।

रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पाँच बुँदे मागसहित विज्ञप्ति जारी गर्दै सांसदहरूको सामूहिक राजीनामाको जानकारी दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको समाधान निकाल्न असमर्थ भई वैधता गुमाएको” भन्दै देशको मुख्य सम्पत्ति जेन-जी पुस्ताको माग र अपेक्षामा पार्टी पूर्ण समर्थनमा रहेको उल्लेख छ।
रास्वपाले सरकारद्वारा मारिएका जेन-जी आन्दोलनकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र निःशुल्क उपचारको माग गरेको छ। साथै, पार्टीले निरन्तर आन्दोलनमा रहने प्रतिबद्धता पनि जनाएको छ।


रास्वपाले अघि सारेका प्रमुख मागहरूमा प्रधानमन्त्री ओलीको तत्काल राजीनामा, घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन, सर्वपक्षीय नागरिक सरकार गठन, प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिने, साथै सबै दोषीमाथि कडा कारबाही गर्ने अटूट अडान सामेल छन्।
यससँगै रास्वपाले संविधान संशोधन प्रक्रिया सुरु गर्नुपर्ने माग पनि अघि सारेको छ। पार्टीले सामूहिक राजीनामालाई “देशलाई नयाँ राजनीतिक निकास दिने ऐतिहासिक कदम” भन्दै व्याख्या गरेको छ।




















