
जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, देशभरका विभिन्न अस्पतालबाट संकलित विवरण अनुसार हालसम्म ३४ जनाको मृत्यु भएको हो।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन्। जसमध्ये ३२१ जना अझै अस्पतालमा उपचाररत छन् भने ९४९ जना डिस्चार्ज भइसकेका छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो जानकारी सार्वजनिक गरेका हुन्।
मन्त्रालयका अनुसार मृतकमध्ये काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बयोधा अस्पतालमा २, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा १–१ जनाको मृत्यु भएको छ।


नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो। प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा घाइते भएका प्रदर्शनकारीलाई तत्कालै अस्पताल पुर्याइएको थियो। कतिपय प्रदर्शनकारी बाटोमै मृत्यु भए भने, कतिपयको अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
जेनजीहरूले सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध स्वस्फूर्त प्रदर्शन गरेका थिए। तर प्रहरी दमन र हिंसात्मक झडपले प्रदर्शन र जनजीवनमा ठूलो असर पारेको छ। स्वास्थ्य मन्त्रालयले घाइते र मृतकको विवरण अपडेट गर्दै राहत र आपत्कालीन उपचारमा ध्यान दिन आग्रह गरेको छ।
देशभर जारी अस्थिर परिस्थितिले जनजीवन प्रभावित भएको छ र सुरक्षा निकायहरूले थप सतर्कता अपनाउनुपर्ने स्थिति छ।



















