रवि लामिछाने फेरि कारागार फर्किँदै, आफूमाथी राजनीतिक प्रतिशोधको आरोप

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू फेरि कारागार फर्किने जानकारी दिएका छन्। उनले जन्मदिनको उपहारस्वरूप आफूलाई कारागारमा पठाइरहेको लेख्दै पछिल्लो सरकारले आफूप्रति राजनीतिक प्रतिशोध लिएको दाबी गरे।

CP Hospital Dhangadhi
Attariya Hospital

लामिछानेले भनेका छन्—सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा अनैतिक र न्यायविरुद्ध भएको उनको तर्क छ। नख्खु कारागारबाट जेन–जी आन्दोलनको क्रममा भिडको दबाबमा रिहा भएका उनी रिहा भएपछि आलोचना भएपछि पुन: जेल जान लागेको उल्लेख गरिएको छ। लामिछानेले नयाँ सरकारमा न्यायको प्रत्याभूति हुने आशामा आफ्नो मुद्दा सरकारको विवेकमा छोड्ने बताए। उनले आन्दोलनमा भयो–नभएको दुवै पक्षको छानबिन हुनुपर्ने, पहिलो र दोस्रो दिनका हिंसाका घटनाहरूको जवाफदेहिता तय हुनुपर्ने जोड दिए। साथै २०४६ पछिका नीतिगत निर्णय र उच्च पदस्थ अधिकारीहरूको सम्पत्तिको छानबिन, राजनीतिक नियुक्ति रद्द गरी पुनर्नियुक्ति खुला राख्ने, विश्वविद्यालय तथा राजदूत नियुक्तिमा मेरिट लागू गर्नुपर्ने माग राखेका छन्। अभिव्यक्ति।

नमस्कार। म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेशा संवादमा छु। जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन ।आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्वपूर्ण कुरा बताउन गइरहेको छु। संयोगले आज मेरो जन्मदिन परेछ। र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरी कारागारमा पठाउँदैछु। पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु।ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेक माथी नै छोड्न चाहन्छु। यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन। बाँकी रह्यो मलाई केहि दिन अघि कारागारबाट निकालिएको विषयको विवाद । त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो। अहिले चिठि नै वैधानिक छैन भनेको सुन्छु। जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनलेले मलाई जोगाएको होइन, जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्न। मैले कालकुट विष पिएको धेरै भइसक्यो। अर्को एक दुई थोपो बीष पिएर म मर्दिन ।मलाई यस्ता आरोप प्रतिशोधहरूको बानी परिसक्यो।कत्रा कत्रा षड्यन्त्र झेलिसकेको मान्छे, मेरा कारण कुनै एउटा जेलर एउटा गृह सचिवलाई अप्ठ्यारोमा पार्नु पर्दैन,मै जिम्मा लिन्छु। तर मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो मेरा कारणले देशभरिका कैदी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला । त्यो पनि भइगो मेरो चित्त दुख्न अब कहाँ पो बाँकी छ र ? यतिखेर पनि यस देशका एकएक भ्रष्टाचारीहरू सुरक्षा निकायको घेरामा छन्,मेषमा मिजबानी खाइरहेका छन्। म जनताको भीडबाट निस्किएपछि एक्लै छु। एउटा पुलिस पनि मसँग छैन।
मेरो बदनाम गराउन तल्लिन पुराना दलका केहि टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखे । हे पुराना दलका सेनामेना साथी हो तिमीहरु आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौं ?
आफ्नै पार्टी परिवारभित्र का साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन ।रास्पा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु। तर पार्टी त बन्छ बन्छ।बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ।
मेरो र पार्टीको हिजोको कुरा आजलाई यति नै ।अब भोलिको कुरा गरौं। देशको कुरा गरौं।
म लोकतन्त्र विधिको शासन प्रति प्रतिबद्ध राजनीतिकर्मी हुँ ।यसमा म कुनै हालतमा सम्झौता गर्दिन। अन्तरिम सरकार संविधानको पूर्ण पालनाबाट बनेन,बन्न सक्दैनथ्यो। अन्तरिम सरकारको संवैधानिक पृष्ठभूमि जेसुकै भएपनि यो अब देशको वास्तविकता हो। यो कदमलाई सरकारले अब परिणामबाट सार्थक बनाउनुपर्छ ।
एउटा कुरा नबिर्सौँ। करिला बच्चाहरुलाई ताकी ताकी गोली हानेर मारिएको छ । त्यससँगै देशका सरकारी संरचनाहरू ताकी ताकी ध्वस्त बनाइएको छ।त्यसैले पहिलो दिनको दमनको पनि छानबिन हुनुपर्छ दोस्रो दिनको हिंसाको पनि छानबिन हुनुपर्छ। बच्चाका टाउकोमा ताकी ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरु कारबाहीको दायरामा तत्काल आउनुपर्छ । देशका संरचनाहरू मा ताकीताकी आगो झोस्नेहरू पनि तत्काल कारबाहीको दायरामा आउनुपर्छ। सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताका लागि आफ्नो सवै शक्ती र सामर्थ्य प्रदान गर्ने वचन का साथ मेरा केहि माग पनि छन् ।
१ ) २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ।
२ ) देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनुपर्छ।
३)कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्छ। सुब्वा देखि न्यायाधिस सम्मले फेरी जांच दिनुपर्छ ।
४) सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ ५ ) सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागु हुनुपर्छ।
मैले भन्दै आएको थिएँ कि राज्यका सम्पूर्ण निकायहरू एउटै रावणका अलगअलग टाउकाहरु हुन्। रावणका यी अलगअलग टाउकाहरूमध्ये एउटा टाउको पनि बच्यो भने रावण बचेको ठहर्छ। यी चिजहरू हुन सकेन भने जनताको आन्दोलन माथी विश्वासघात हुन्छ। मलाई विश्वास छ समयमै निर्वाचन हुनेछ। त्यसकालागि हामी जनस्तर बाट दवाव बढाएर सरकारलाई सहयोग गर्ने छौ । नयाँ सरकार र नयाँ जेनेरेसनलाई मेरो शुभकामना। म,यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरूसँगै छु। मैले केही योगदान दिनुपर्यो भने म यही नखु कारागारमै छु। भेट्न आउनुहोला । पार्टीका तल्लो तहसम्मका साथीहरूलाई यति भन्दछु कि पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै अटाउँछौँ।
पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने केही पनि छैन। उनीहरुले जति जाने त्यति गरे।इतिहासका विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउन उनीहरुले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ । स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ । सके एक्लै, नसके सबै नयाँहरू मिलेर । देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा श्रमदान गर्न म हार्दिक अपिल गर्दछु। नमस्कार।