
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकलाई यही असोज १७ देखि २० गतेसम्म अत्यन्त आवश्यक बाहेक यात्रा नगर्न कडा आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानअनुसार लगातार चार दिनसम्म ती प्रदेशका धेरै जिल्लामा मध्यमदेखि भारी वर्षा हुने भएकाले उच्च सतर्कता आवश्यक देखिएको हो।


काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहट लगायतका क्षेत्रमा आकस्मिक बाढी, डुबान र पहिरोको जोखिम उच्च रहेको प्राधिकरणले जनाएको छ। विशेष गरी नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तहमा पुग्ने अनुमान गरिएको छ।
प्राधिकरणले रातिको समयमा वा घरदेखि टाढा यात्रा नगर्न, जोखिमयुक्त सडक–राजमार्गमा ध्यान दिन, नदी किनार र पहिरो सम्भावित क्षेत्रका बासिन्दाले सुरक्षित स्थानमा जान पूर्वतयारी गर्न, डुबान हुने बस्तीले उच्च स्थानबारे अग्रिम जानकारी लिन र छिमेकीलाई पनि सचेत गराउन आग्रह गरेको छ।
यस्तै तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला निकायलाई पूर्वतयारी, प्रतिकार्य र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त सडकमा तत्काल प्रयोग गर्न डोजर, एक्साभेटर, लोडरजस्ता साधन तयारी अवस्थामा राख्न समेत जोड दिइएको छ।
यसअघि प्राधिकरणले ढिलो सूचना बेवास्ता गर्दा जनधनको क्षति हुने भएकाले यसपटक समयमै सतर्कता अपनाउन सबैलाई सचेत गराएको हो।




















