
नेपालभर आजदेखि पाँचदिने तिहार पर्व विधिवत् रूपमा सुरु भएको छ। आज दिउँसो १:२३ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले धनतेरस र यमदीपदान पर्व आजै मनाइँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमदीपदान गरे पापमोचन र यमयातनाबाट मुक्ति पाइने विश्वास छ। आइतबार काग तिहार, सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन, बुधबार गाईगोरु तथा गोवर्द्धन पूजा, र बिहीबार भाइटीका पर्न आएको छ। समितिले भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे निर्धारण गरेको छ।

यस पर्वमा परिवार र समाजमा प्रेम, आपसी सम्बन्ध र उज्यालोको सन्देश फैलाइन्छ। घर, बजार र गल्लीहरू रंगीन बत्ती र फूलमालाले सजिएका छन्।

भैलो–देउसी, तास, लङ्गुरबुर्जा जस्ता रमाइला खेलहरूले चाडको उत्साह अझ बढाएका छन्। नेपाल प्रहरीले पटाका नपड्काई सभ्य र सुरक्षित रूपमा पर्व मनाउन आग्रह गरेको छ। उज्यालो र समृद्धिको प्रतीक यो चाडले अन्धकार, असत्य र द्वेषमाथि प्रकाश, सत्य र प्रेमको विजयको सन्देश दिन्छ।































