
आज सोमबार, भगवान शिवको आराधना र व्रतको विशेष दिन। धेरै नारीहरू यस दिन व्रत बसेर मनोकांक्षा पूरा हुने कामना गर्छन्। अविवाहितले सुयोग्य बर र विवाहिताले पतिको दीर्घायुको कामनासहित भगवान महादेवको पूजा गर्छन्। धार्मिक विश्वास अनुसार सोमबार सेतो वस्त्र धारण गरी सेता सामग्रीको दान गर्नाले विशेष पुण्य प्राप्त हुन्छ।

शिव स्तोत्र, रुद्राक्ष र बेलपत्रको पूजा भगवान शिवलाई अत्यन्त प्रिय मानिन्छ। सोमबारका दिन भगवान शिवप्रति श्रद्धा राखी पाँच मुख्य कर्म गर्दा मनले चाहेको इच्छा पूरा हुने जनविश्वास छ— बिहानै उठेर शिव चालीसा वा शिवाष्टक पाठ गर्नु, गौरी–शंकरको ध्यान गरी रुद्राक्ष अर्पण गर्नु, सेतो चन्दनसहित बेलपत्र चढाउनु, शिवलिंगमा दूध चढाएर ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्नु, र ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र ११ पटक जप गर्नु।

यी पाँच कर्मले पारिवारिक सुख, आर्थिक वृद्धी र मानसिक शान्ति प्राप्त हुने विश्वास गरिएको छ। सोमबारको व्रतलाई श्रद्धा, संयम र समर्पणसहित मनाउँदा भगवान शिवको विशेष कृपा प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ।





















