
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुने भन्दै जनतालाई ढुक्क रहन आग्रह गरेका छन्।


जनकपुरधामस्थित गङ्गा सागर पोखरीको घाटमा आज साँझ छठ पूजा अवलोकन तथा प्रार्थना पछि पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनका सबै तयारी योजनाबद्ध रूपमा अघि बढिरहेको बताए। उनले निर्वाचनको विकल्प नै नभएको उल्लेख गर्दै त्यसका लागि आवश्यक शान्ति सुरक्षा व्यवस्था पूर्ण रूपमा सुनिश्चित गरिने प्रतिबद्धता जनाए।
अर्यालले छठ पर्वलाई प्राकृतिक आस्था, धार्मिक एकता र आपसी सद्भावको प्रतीकका रूपमा व्याख्या गरे। उनले भने, “छठ पर्वले सबै जात, धर्म र समुदायबीच एकताको सन्देश दिन्छ, यसको गरिमा हरेक वर्ष बढ्दै गएको छ।”
गृहमन्त्रीका अनुसार स्थायित्व र लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरणका लागि निर्वाचन समयमै सम्पन्न हुनु अत्यावश्यक छ, जसका लागि गृह मन्त्रालय पूर्ण रूपमा जिम्मेवार र तयार रहेको बताए।































