
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले देशका धेरै स्थानमा बदली र वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको छ।
सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी र हिमाली क्षेत्रहरूमा बदली रहने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा असिनासहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। तराईका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।






























