कञ्चनपुरका राना थारु समुदायमा डोलाको रौनक

label सुदूरखबर संवाददाता query_builder August, 17 2018

राजेन्द्र पनेरु/सुदूरखबर।
कञ्चनपुर, भदौ १ । कञ्चनपुरका राना थारु समुदायका महिलाहरुले मनाउने तीजमा राखिने डोला (पिङ)को रौनक अझै हटेको छैन । थारु गाँउमा साउनको शुक्लपक्षको पूर्णिमाको दिन सार्वजनिक स्थान राखिएको डोला खेल्ने क्रम निरन्तर जारी रहेको छ ।

परम्परागत परिधानमा सजिएका राना थारु महिलाहरु आफनै पारामा गीत गाउदै डोलामा मच्चिएर आनन्द लिँदै गरेको देखिने गरेको छ । बगैंचा र सामुहिक रुपमा भेला हुने ठाउमा दाजु भाईले दिदि बहिनीहरुका लागि पिङ्ग राख्ने राना थारु समुदायमा परम्परागत चलन हो ।

दिदीबहिनीहरुले बिस्तारै पिङ्ग खेल्दै मांगलिक गितहरु गाउने गर्दछन । पिङ्गलाई रानाथारु भाषमा डोला भन्ने गरिन्छ । पुरुषहरुले दिदि बहिनीको उत्साह थप्नका लागि ठुलो आवाजमा गित गाउने चलन यस समुदायमा रहेको छ ।

यसबाट दिदीबहिनी र दाजुभाईबीच आत्मीयता बढने भएकाले यसलाई बढी महत्व दिइने गरिएको राना थारु अगुवा गेंदुराम रानाले बताए । दिदीबहिनीले पानी समेत नपिएर निरहार बसी दाजुभाईको दिर्घायुको कामना गरी तीज मनाउने गरेका छन् ।

निरहार बसेका दिदीबहिनीले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् । गडरौंदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविविहीतले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बिच भागमा पुगेर बत्ति संगै बिर्षजन गर्ने चलन रहेको राना थारु संस्कृतिका जानकार नवलसिंह रानाले बताए ।

बिर्षजन गर्ने बेला दिदि बहिनीले दाजु भाईलाई धन सम्पती, उन्नती र नदीको धार जस्तै दाजु भाईको आयु बढोस भनी बरदान माग्ने गर्दछन । बिर्षजन गर्न जाने बेला गाँउका युवाहरुले दिदि बहिनीहरुलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने प्रयत्न गरि हस्यौली ठटयैली र मनोरञ्जन लिने गरेका छन् ।

जसलाई राना थारु भाषामा झुडकि छिराउने भन्ने गरिन्छ । तीजमा माईतीलाई भेटन नपाएका दिदि बहिनीहरु यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले बर्ष भरीको सुख दुख साटासाट गर्ने अबसरका रुपमा लिने गर्दछन् । तीजका अवसरमा घर घरमा बनाईएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्त लाई बाँडदै घरका सबैले संगै बसेर खाने चलन यस समुदायमा रहेको छ ।

तीजका अवसरमा महिलाहरुले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गरेका छन भने आभूषणमा पैडा, कठुला, हरवा लगायत घाँटी देखि खुट्टा सम्म लगाउने गर्दछन । कैलाली र कञ्चनपुरमा मात्रै बसोवास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रुपमा रहेको छ ।
दिदि बहिनीले दाजु भाईको दिर्घायुको कामना गर्दै यस पर्वलाई मनाउद छन् । दाजु भाईले तीज पर्व आउन १५ दिन अगावै दिदि बहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनु पर्ने चलन रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्