आर्थिक वर्षको सुरुमै बाजुरामा खाद्यन्न अभाव हुने संकेत

label सुदूरखबर संवाददाता query_builder August, 17 2018

मदन विक/सुदूरखबर।
बाजुरा, भदौ १ । बाजुरामा आर्थिक वर्ष २०७५/७६ को सुरुवातमै खाद्यन्न अभाव हुने संकेत देखिएको छ । जिल्लामा निरन्तर वर्षा भइरहेकोले साँफे मार्तडी सडक अवरुद्ध भएपछि खाद्यन्न ढुवानीमा समस्या हुँदा बाजुराबासीका लागि यस आर्थिक वर्षको सुरुवातमै खाद्यन्न अभाव हुने संकेत देखिएको हो ।

बाजुराका लागि आर्थिक वर्ष २०७४/७५ का लागि केन्द्रले १० हजार क्विन्टल चामलको कोटा छुट्याएपनि ५ हजार क्विन्टल चामल मात्र आएको नेपाल खाद्य संस्थान बाजुराका निमित्त कार्यालय प्रमुख मेघराज ओझाले बताए । यस वर्षका लागि केन्द्रबाट बाजुराका लागि छुट्याएको कोटा अनुसारको चामल समयमै ढुवानी हुन नसकेमा खाद्यन्न अपुग हुने ओझाले बताए ।

सदरमुकाम मार्तडीमा रहेको नेपाल खाद्य संस्थानमा हाल करिब २ सय ५० क्विन्टल चामल र ५० क्विन्टल गहँु मौजाद रहेको पाइएको छ । चामल र गहुँ गरि ३ सय क्विन्टल खाद्यन्न भदौ महिनाको दोस्रो साताभित्रै विक्रि हुनेहो भने खाद्यन्न अभाव हुन सक्ने नेपाल खाद्यन्न संस्थान बाजुराले जनाएको छ ।

खाद्यन्न डिपोबाट हाल सोना मन्सुली, अरुवा मोटा चामल, उसिना चामल र गँहु विक्रि हुँदै आएको छ । खाद्यन्नबाट सबै भन्दा विक्री र बढी खपत हुने अरुबा मोटा चामल सकिएपछि अहिले सोना मन्सुली र उसिना चामल विक्रि हुँदै आएको खाद्यन्न संस्थान बाजुराले जनाएको छ ।

स्थानीयहरुले अहिले सोना मन्सुली प्रतिकट्टा ३० केजि १५ सय पाँच, अरुबा मोटा चामल प्रतिकट्टा ३० केजी ११ सय ९०, उसीना चामल प्रतिकट्टा ९ सय ८० र गहँु प्रतिकट्टा ५० केजी १६ सय ५० रुपैयामा खरिद गरेर यहाँका स्थानीयहरुले उपभोग गरिरहेका छन् ।

यस भन्दा अघि सबैभन्दा बढी खपत हुने स्थानीयहरुले बढी मात्रामा उपभोग गर्दै आएको अरुबा मोटा चामल खाद्यन्न डिपोमा सकिएपछि अरु प्रकारका चामलका लागि बढी मात्रामा चामल लिन स्थानीयहरु नआउने गरेको खाद्यन्न संस्थान बाजुराले जनाएको छ । खाद्यन्न संस्थानले अहिले प्रति १ जनालाई ३० केजिका दरले चामल विक्रि गरिरहेको बताएको छ ।

खाद्य संस्थानमा मौजाद रहेको करिब २ सय ५० क्विन्टल चामल र ५० क्विन्टल गहँु सकिन थालेपछि जिल्लाबासीले खाद्यन्न संकट भोग्नु पर्ने अवस्था आउन सक्ने नेपाल खाद्यन्न संस्थान बाजुराले जनाएको छ ।

खाद्यन्नबाट दैनिक जसो १० देखि २० क्विन्टल सम्म विक्रि हुने अरुबा मोटा चामल सकिएपछि अन्य प्रकारको चामल बढी खपत नभएको बताइएको छ । पुर्वीउत्तरी क्षेत्रका १ नगरपालिका र ३ गाउँपालिकाका स्थानीयका लागि कोल्टीमा रहेको नेपाल खाद्य संस्थान शाखाको डिपोमा ३३ सय बढी क्विनटल चामल मौजाद रहेको छ ।

सधै गरिवीको चपेटामा रहेको बाजुरा जिल्लामा जहिल्यै खाद्यन्न अभाव हुने गरेको छ । बाह्रै महिना खाद्यन्नको चामलमा भरमा पर्ने यहाँका स्थानीयहरुले खाद्यन्न अभाव हुने संकेत दखेपछि निरास बनेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्