नवसामन्तवादको घनले नपिटिउन् मर्महरू

label सुदूरखबर संवाददाता query_builder August, 20 2018

नेपाली राजनीति व्यवस्थासँगै राजनीतिक शैलीमा पनि परिवर्तन आएको छ । नेपाली राजनीतिमा माक्र्सवादी र गैरमाक्र्सवादी गरी दुईटा भिन्न मार्गदर्शक सिद्धान्त आत्मसाथ गर्ने पार्टी देखिन्छन् । यहाँ गैरमाक्र्सवादी भन्दापनि माक्र्सवादी पथमा पथिकहरुको प्रसंग उल्लेख गर्न लायक छ ।

नेपालमा कम्युनिस्ट पार्टीको स्थापनासंगै विग्रहको श्रीङ्खला चुलिँदै हाल आएर एकतामा परिणत भएको छ । लगभगले अब नेपालको राजनीति ध्रुविकरण हुँदै बहु ध्रुवबाट दुई ध्रुवमा सीमित हुँदै छ । राजनीतिक स्थिरताका लागि यो सुखद विषय हो । जसको फलस्वरुप नेपाललाई समृद्धिको मार्ग खुल्ने आशा गर्न सकिन्छ ।

यसरी राजनीतिले ध्रुविकरणको बाटो लिइरहँदा राजनीतिक दलहरुले समेत आफ्नो सैद्धान्तिक बैचारिक र सांगठनिक रणनीतिलाई सुव्यवस्थित गर्नु जरुरी छ । पार्टीको नीति तथा कार्यक्रमलाई जनस्तरमा बोकेर लैजाने तथा कार्यन्वयन गर्ने मुख्य भूमिका संगठनको हुन्छ ।

वामधारका शक्तिहरुको एकताले नेपाली जनताहरुलाई दिएको आशा निराशामा परिणत हुन नदिनका लागि नेकपाको पार्टी संगठन निर्माण चरण देखिनै ध्यान दिनु जरुरी छ । पार्टी संगठन एउटा वृहत मोर्चा हो ।

यस मोर्चामा संलग्न रहने व्यक्तिको सक्षमता, क्रियाशिलता, राजनैतिक परिपक्वता, सामुहिक प्रतिवद्धता, संगठन र समाजप्रतिको उत्तरदायित्वको बोध आदिले निर्णायक भूमिका खेल्ने गर्दछ । जसरी एउटा सुव्यवस्थित संरचनामा रहेको पानीले सौन्दर्य दिन्छ तालको रुप ग्रहण गर्छ तर अव्यवस्थित रुपमा थुनिएको पानी एक छिनका लागि ताल जस्तो देखिएपनि त्यसले एक न एक दिन आफ्नो रुप ग्रहण गरि छोड्छ, अनि विनास वितण्डा मचाउन तिर लाग्छ ।

त्यसरी नै नेकपाले अहिले सुव्यवस्थित रुपमा संगठनलाई निर्माण गर्न सकेन, पार्टी समायोजनका नाममा साविकका पार्टीको सम्मानमात्र खोजियो र क्षमतावान प्रतिवद्ध जनविश्वासिलो नेतृत्व चयन गर्न सकिएन भने ताल हैन थुनिएको नदि जस्तो प्रत्तपादक बन्न सक्छ । नेपाली जनताको आशा र भरोशा माथि तुसारापत हुन सक्छ, अनि सबै भन्दा बढी धोका कम्युनिष्ट आन्दोलन माथि हुन जानेछ । एक कोशीय जीवलाई बाँच्न कठिन छैन तर बहुकोशीय विकसित प्राणीमाथि जति खतरा हुन्छ, त्यसै गरी सानो संगठन भन्दा ठूलो संगठन व्यवस्थित हुन त्यसको ब्यवस्थापन नै हो ।

संगठनको व्यवस्थापन नीति विधिको व्यवहारिक प्रयोग र यसको अभ्यासमा भर पर्छ । अहिले दुईवटा पार्टीको समायोजन प्रक्रियाले तीव्रता पाएको छ । अध्यक्ष र सचिव दुई पदाधिकारी रहने गरी स्थानीय संगठन कमिटी गठन गर्ने पार्टीको अन्तरिम विधानले व्यवस्था गरेको छ । जसअनुसार एक एक पद साविकका पार्टीमा बाँड्फाँड गर्न सहमति देखिन्छ । पार्टीको संगठन कमिटी निर्माण गर्दा साविकका पार्टीका जिल्ला इन्चार्ज र अध्यक्षको राय सुझावमा प्रदेश स्तरीय कार्यदलले त्यसलाई प्रस्ताव गर्ने छ ।

बाजुरा जिल्लाको हकमा साविकको नेकपा एमालेको भागमा अध्यक्ष र नेकपा माओवादीको भागमा सचिव परेको छ । १ सय २५ जनाको जिल्ला कमिटी त्यसको एक तिहाइको सचिवालय र ७ जनाको जिल्ला हेड्क्वाटर बन्नेछ । जिल्ला कमिटीमा एमालेबाट ७० र माओवादीबाट ५५ जना रहने तथा जिल्ला हेड्क्वाटरमा एमाले ४ र माओवादीबाट ३ जना रहेन भन्ने प्रारम्भिक सहमति समेत भएको समाचारले छापिरहेका छन् ।

संगठन निर्माण गर्न समायोजनको जिम्मा पाएका नेतृत्वले अत्यन्तै संवेदनशील भएर यसको सुझाव दिने र सिफारिस गर्नेदेखि अनुमोदन गर्दा ध्यान दिनु पर्छ । गुटबन्दीमा अभ्यस्त दुइटै पार्टीले जिल्ला नेतृत्वको चयन गर्दा अभ्यस्त बानीलाई नै निरन्तरता दिएको खण्डमा संगठन कमिटीले त पूर्णता पाउला तर नीति विधि र अभ्यास उल्टीनाले त्यसको दुर्तगामी असर भने नराम्रोसंग पर्नेछ ।

जिल्लाको नेतृत्व छनोट गर्दा बाजुराको साविकका पार्टीमा उसको योगदान, जनविश्वास, योग्यता क्षमता, पार्टी हाँक्न सक्ने योजना निर्माण गर्न सक्ने, कठिन परिस्थितिमा पार्टी र जनताको हितमा उभिएको तथा अशल चरित्रलाई अधार बनाइनु पर्छ । नकि गुटगत आधारहरु लिने, नेतृत्व रिजाउने जनतालाई बिझाउने, अवसरवादी, विपक्षीसंग साँटगाँठ मिलाउँने, जनहितमा काम गर्ने भन्दापनि नेतृत्व फकाउने गणेश प्रवृतिलाई जनवादमा विश्वास गर्ने पार्टी कहिले केन्द्रियताले निर्णय दिन पर्ने अवसर आउन सक्छ । यो नेतृत्वको लागि एउटा परीक्षाको घडी समेत हो ।

यस परीक्षामा नेतृत्व पास हुन्छ कि हुन्न ? जनताको वीचमा उभिनेलाई नेतृत्व दिने कि नेताहरुको पिठमा अभिनेलाई ? जनताको काममा तल्लिन हुनेलाई नेतृत्व दिने कि आफ्नोलागि दाममा तल्लिन रहनेलाई ? काम पर्दा कल गर्नेलाई कि रिजाउन कल गर्नेलाई ? कर्मी माहुरी नचिन्नेले माहुरी पालन व्यवसायमा सफलता पाउन सक्दैन ।

जनताले विश्वास गर्ने र कमिटीले स्वीकार्न सक्नेलाई नेतृत्व दिने कि जनताबाट तिरस्कृत अनि कमिटीलाई पचाउन गाह्रो पर्नेलाई ? गलत व्यक्तिको हातमा पार्टीको लगाम परेछ भने फेरी पार्टीलाई धुलोमा मिलाउने सम्भावना हुन्छ ।

जिल्ला कमिटी निर्माण हुँदा साविकको माओवादी केन्द्रबाट केही संख्या घटेपनि नेकपा एमालेको भने ११ जना नयाँ अनुहार थपिने देखिन्छ । नयाँ अनुहार थपिँदा पनि माथिका यक्ष प्रश्नको जवाफ दिनुनै पर्ने छ । माओवादी केन्द्रले साविकबाट घटाउदा सक्रिय क्षमतावानला र जनप्रेमी मान्छेलाई पछाडि पारेर आसेपासे अंसियार गोतियार वा धुपाउडेहरुलाई नछानोस् त्यसै गरी एमालेले पनि ११ जना छान्दा बंशजको आधार, विडो थाम्ने उत्तराधिकारी, रामभक्त हुनमान वा अवसरवादीहरुलाई खुड्किला नचडाओस् ।

साविकको एमालेको जिल्ला कमिटीमा ३३% महिलाहरुको सिट पुरा गर्न सकिएको छैन । यति वेला महिलालाई स्थान दिइयो भेन यो मापदण्ड पुरा हुनेछ । यसतर्फ नेकपाको संगठन कमिटी निर्माण गर्ने जिम्म्वारी प्राप्त गरेको नेतृत्वको विशेष ध्यान जान जरुरी देखिन्छ । कतिपय पार्टीको लागि महत्वपूर्ण योगदान दिएका कमरेडहरु जिम्मेवारी विहिन छन । जिम्मेवारी प्रदान गर्ने र चलाएमान बनाउँने दायित्व पनि नेतृत्वमाथि छ ।

देशलाई नेकपाको नेतृत्वमा सोणिम युगको मार्गमा डोर्याउँने ऐतिहासिक जिम्मेवारी प्राप्त भएको यस घडीमा यी सबै यक्ष प्रश्नको परीक्षा दिएर सर्वप्रथम त संगठन बनाउँने जिम्मेवारी पाएका अर्थात टाउका छान्ने टाउकाहरु परीक्षामा पास हुन जरुरी छ ।

नेकपा बाजुराका शुभचिन्तक र सुभेच्छुकहरु तथा नेकपाका स्वईच्छिक स्वघोषित कार्यकताहरुको पहिलो नजरमा जिल्ला इन्चार्ज, अध्यक्ष र कार्यदल पर्ने छ । यहीँ पहिलो परीक्षाबाट स्पष्ट हुनेछ कि नेकपा बाजुराको राजनीतिक दिशा कतातिर जाँदैछ । नेकपाको ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्धेश्यले सहज रुपमा सफलता पाउँने वा कठिनाई भोग्नु पर्ने परिस्थितिको यही विन्दुबाट पहिचान हुनेछ ।

लेखक : रावत अधिवक्ता हुन् ।

तपाईंको प्रतिक्रिया दिनुस्