निर्मला हत्या प्रकरण : बैतडीमा पनि विरोध प्रदर्शन

label सुदूरखबर संवाददाता query_builder August, 24 2018

बैतडी, भदौ ८ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै बैतडीमा शुक्रबार पनि विरोध प्रदर्शन गरिएको छ। मेलौली नगरपालिकाका महिलाहरूले दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै मेलौली बजारमा नारा जुलुससहित प्रदर्शन गरेका हुन्।

मेलौली मन्दिरदेखि सुरू भएको जुलुसमा महिलाहरूले बलात्कारी फासी दिनुपर्ने, महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्नेलगायतका नारा लगाएका थिए। कञ्चनपुरमा भइरहेको आन्दोलनको समर्थन गर्दै दोषीलाई कारबाही हुनुपर्ने मागसहित आफूहरूले विरोध प्रदर्शन गरेको महिला सञ्जालका अध्यक्ष रुबी नायकले बताएन्।

 महिलाहरूले हरेक क्षेत्रमा हिंसामा परेकाले उनीहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आफूहरूको माग रहेको उनले बताइन्। साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा भनि मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका १९ का दिलीपसिंह विष्टलाई भदौ ४ गते प्रहरीले सार्वजनिक गरेको थियो।

वास्तविक हत्यारालाई लुकाउन खोजेर मानसिक सन्तुलन गुमाएका विष्टलाई प्रहरीले सार्वजनिक गरेको भन्दै स्थानीयले भदौ ५ गतेदेखि कञ्चनपुरमा आन्दोलन गर्दै आएका छन्। आन्दोलन चर्किदै गएपछि बिहीबार मात्रै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई गृह मन्त्रालय तानेको थियो।

यसका साथै सरकारले एक उच्चस्तरीय छानबिन टोलीसमेत कञ्चनपुर पठाएको छ। शुक्रबार उग्र आन्दोलनलाई नियनत्रण गर्न चलाएको गोली लागेर कञ्चनपुरमा एक बाललको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्।

तपाईंको प्रतिक्रिया दिनुस्