विद्युत विस्तारसंगै लोप हुँदै पुराना प्रविधि

label सुदूरखबर संवाददाता query_builder August, 31 2018

विनोद सिंह विष्ट/सुदूरखबर।
बैतडी, भदौ १५ । पछिल्लो समय बैतडीका ग्रामिण क्षेत्रमा पनि विद्युत बिस्तार भएपछि पुराना प्रविधिहरु लोप हुँदै गएका छन् । धान कुट्ने, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले बैतडी जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधिका पानीघट्ट, ढिकी(ओखल) तथा जाँतो, कोल लोप हुँदै गएका हुन् ।

करिब दुई दशकअगाडि सम्म चलनचल्तीमा आएका यी घरेलु सामग्री अहिले गाउँमा देख्न मुस्किल परेको छ । आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यी सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले बिस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिन थालेको छ ।

समयसापेक्ष बढ्दो आधुनिकताले परम्परागत रुपमा प्रयोगमा आएका ढिकी, जाँतो कोल समेत लोप हुन पुगेका हुन् । केहीवर्ष अघिसम्म पनि गाउँगाउँमा प्रचलित रहेका पानीघट्ट, ढिकी(ओखल), जाँतो अहिले विद्युत् विस्तार भएसँगै विस्थापित हुँदै गएका दोगडाकेदार ३ श्रीकोटका गणेश विष्टले बताए । विभिन्न खोलामा सञ्चालनमा रहेका पानीघट्ट अहिले बन्द हुने अवस्थामा पुगेका उनले बताए ।

‘पहिलापहिला गाउँमा बिजुली नआउँदा र मिल स्थापना नहुँदा पानी घट्टमा भिडभाड हुने गरेको थियो ।’ उनले भने–‘नयाँ प्रविधिका मिल सञ्चालनमा आएपछी पानीघट्टहरु जीर्ण तथा सुनसान बनेका छन् ।’

जिल्लाका सबैजसो स्थानिय तहमा अहिले नयाँ प्रविधिको मिल सञ्चालनमा रहेका छन् । सित्तडका ५६ वर्षीय कृष्णबहादुर कार्की गाउँमा ढिकी र जाँतो विस्थापित हुन पुगेकामा निकै चिन्तित बनेका छन् । ‘विगतमा गाउँघरमा ढिकी, जाँतो चल्दा र ढिकी, जातोको आवाज आउँदा पनि गाउँघर रमाइलो हुन्थ्यो, तर अहिले गाउँमा ढिकी घर भत्किसके, जाँतो उखेलिएर फालिसके ।’ उनले भने–‘अब मिलको जमाना आयो, हिजोका ती प्रविधि बन्द हुँदा गाउँ नै सुनसान हुन पुगेको छ ।’

एकताका तेल र घ्यूमा आत्मर्निभर मानिने बैतडीमा जिल्लामा तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदै गएको छ । श्रीकोटका कृष्ण विष्टले भने ‘पहिला जिल्लामा प्रसस्त मात्रामा तोरी, तिल, तिरकुलो को खेती गरिन्थ्यो । अहिले त मान्छेहरूले तेलबाली पनि लगाउन छोडे, कोल त हराइ नै सकें ।’

हिउँदयाममा प्रायः फुर्सदिला हुने भएकाले गाउँभरिकै एउटा कोल भएकोले प्रत्येक परिवारले पालैपालो गरेर तेल पेल्न चलन थियो । आजभोलि कोल पनि हराइसकेको छ । जलवायु परिवर्तनसंगै उब्जनी कम तथा बजारमा सजिलै किन्न मिल्ने गरेकाले यस्तै अमिलो पेल्ने कोल र उखु पेल्ने कोल पनि हराउदै गएका छन् ।

कोल प्रायः सामुदायिक हुन्थे । गाउँभरिको एउटै कोल हुने भएकोले हरेक परिवारले हिउँदयाममा पालैपालो तेल पेल्ने र कोलका खाँबा फेर्नु परेमा समुदायका सबै मानिस मिलेर ल्याउने गरिएको थियो ।

विगतमा जिल्लाभरि सयौंको संख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका छन् । दुर्गम गाउँमा रहेका १/२ कोल पनि विस्तारै प्रयोगविहीन हँुदै गएका छन् । कोल लोप भएसँगै बैतडीमा तेलहन बालीको खेती लगाउने संख्या पनि घट्दै गएको छ ।

कोलमा तेल पेल्नका लागि बढी जनशक्तिसँगै शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेती समेत हराउँदै गएको र कोललाई नै प्रवद्र्धन गर्न वा तेल पेल्न आधुनिक प्रविधिमा आधारित उद्योग खोलिएकाले लोप हुदै गएका स्थानीय हेमराज गिरीले बताए । कतिपय गाउँलेका घरमा अहिले पनि पुराना जाँतो र ढिकी रहे पनि प्रयोगमा ल्याउन छाडेका कारण अब यसको प्रचलन नै हराउन थालेको ग्रामिण क्षेत्रका नागरिकको भनाइ छ ।

अन्नबाली ढिकी, जाँतो र घट्टमा कुटानी पिसानी गर्दा लामो समयसम्म टिकाउ हुने, स्वादिलो हुने र पौष्टिकयुक्त हुने भएकाले पनि यी परम्परागत प्रविधिको संरक्षण गर्न आवश्यक रहेको कृषिज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दको भनाइ छ ।

उनले भने,–‘मेहनत बढी लाग्ने भएपनि पुराना प्रविधिहरु कम खर्चिलो पनि छन् ।’ नयाँ प्रविधिले गर्दा हिजोका ढिकी, जाँतो र कोल विस्तारै इतिहास बन्ने भएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्