बैतडीका पाँच स्थानीय तह विद्युत विहीन, कार्यसम्पादनमा समस्या

label सुदूरखबर संवाददाता query_builder September, 01 2018

विनोदसिंह विष्ट/सुदूरखबर।
बैतडी, भदौ १६ । जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दा सक्दा समेत अझै पनि बैतडीका अधिकांश स्थानीय तह अभावै अभावमा चलिरहेका छन् । जिल्लामा रहेका १० स्थानीयमध्ये आधास्थानीय तह विद्युतविहीन छन् ।

४ नगरपालिका र ६ गाउँपालिका रहेको यहाँ ५ वटा स्थानिय तहका सदरमुकाम अझै विद्युतको पहुँमा पुग्न सकेका छैनन् । जसमा १ नगरपालिका र ४ गाउँपालिका विद्युतविहीन रहेका सम्वन्धित स्थानिय तहहरुले जनाएका छन् । स्थानीयतहमा विद्युत नपुग्दा दैनिक कामकाज गर्न समस्या भएको छ ।

पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा अझै विद्युतको पहुँच पुग्न नसकेको हो । विद्युत लाइन नहुँदा दैनिक कार्यसम्पादनमा समेत समस्या भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । ‘विद्युत नहुँदा गाउँपालिकामा इन्टरनेटसमेत जडान गर्न सकिएको छैन ।’ उनले भने–‘गाउँपालिका कार्यलयमा सोलार बत्ती रहेको भएपनि बर्षतको समयमा घाम नलाग्दा सोलारले काम गर्न छोडेको छ ।’

जिल्लाको सवैभन्दा दुर्गम गाउँपालिका सिगास गाउँपालिकामा पनि विद्युत नहुँदा कार्यलयले गर्ने नियमित कामकाजमा समेत समस्या हुने गरेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । सिगास गाउँपालिका दुर्गम गाउँपालिका भएकाले विद्युतबाट हुने कामको लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ बिजुली बत्ती कार्यालयसम्म नपुग्दा सोलार बत्तीकै भरमा प्रिन्ट, फोटोकपी, कम्प्युटर समन्धी अत्यावश्यक काममा असहज भएको छ । उनले भने–‘गत महिनामात्रै स्थापना भएको कृषि विकास कार्यालयमा समेत ईन्टरनेट जडान गर्न नसक्दा सेवा सुभारम्भ हुन सकेको छैन् ।’

बिजुली बत्ती नहुँदा सोलार बत्तीको भरमा स्थानिय तहले कार्यालयमा सम्पूर्ण कार्य सम्पादन गर्दा समस्या हुने गरेको छ । सोलार बत्तीले घाम परेको बेला मात्रै काम गर्ने र घाम नपरेको बेला काम नहुने हुँदा दैनिक कामकाजमा समस्या हुँदै आएको पुर्चौडी नगरपालिकामा उपप्रमुख जानकी बमले बताइन् ।

‘स्थानीय खोलाबाट लघुजलविद्युत आयोजनावाट बिजुली निकालिएको भएपनि काम नलाग्ने भएको छ ।’ उनले भने–‘रातीको समयमा बत्ती बाल्न मात्रै छोड्ने गरिएको छ, कार्यालय समयमा बिजुली आउदैन् ।’

नगरपालिकाको कार्यालयमा विद्युतलाइन नहुदा बिकास निमार्णका काममा समेत बाधा पुगेको छ । ‘योजना सम्झैता र मुल्याङ्कनका काम कम्प्युटरबाटै गर्नुपर्ने भएकाले सोलारको ब्याट्रीले ब्याकप नधान्दा हप्तौ सम्म ढिला हुने गरेको छ ।’ उनले भनिन्–‘कतिपय उपभोक्ता त रित्तै फर्किन पर्ने बाध्यता समेत रहेको छ ।’

पञ्चेश्वर गाउँपालिकामा पनि सोलारवाट विद्युतिय कामकाज हुने गरेको छ । कम्प्युटरबाटै सबै कार्यसम्पादन गर्दा घाम लागेको बेला मात्रै कम्पयुटर खुल्छ, पानी परेको बेला सेवाग्राहीरुलाइ रित्तै फर्काउनुपरेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

‘विद्युतीय उपकरणबाटै कामकाज गर्नु पर्ने भएकाले सोलार बाटै धान्न सक्दैन् ।’ उनले भने–‘योजना इस्टमेट लगायत अन्य कार्यसम्पादन कम्प्युटरबाटै गर्नपर्ने भएकोले अप्ठ्यारो हुदैं आएको छ ।’

लगातार दुई–तीन दिनसम्म घाम नपरेको बेला ब्याट्री ब्याकपले नधान्ने भएकाले कार्यसम्पादनमा समस्या हुने गरेको उनले बताए । डिलाशैनी गाउँपालिकामा पनि विद्युत नहँुदा कामकाजमा धेरै ढिलासुस्ती हुने गरेको छ । गाउँपालिकाको केन्द्रमा विद्युत नभएको सेवाग्राहीले भनेको समयमा सेवा दिन नसकिएको वडा नं १ का वडा अध्यक्ष अक्कल रानाले बताए ।

विद्युत नपुगेका स्थानीय तहहरुले विद्युत सेवा विस्तारका लागि नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीलाई आग्रह गरेको भएपनि बजेटको अभावमा तत्काल विद्युत सेवा विस्तार गर्न सकिने अवस्था नरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । विद्युुत नभएका सबै स्थानीय तहबाट विद्युत् विस्तारका लागि निवेदन आए पनि बजेटको अभावमा विद्युत् सेवा विस्तार गर्न सकिएको छैन् ।

विद्युतको पहुँचभन्दा बाहिर रहेका स्थानीय तहहरुले विद्युत विस्तारका लागी प्रदेश सरकार र केन्द्र सरकारसंग आग्रह गरेको जनाएका छन् । तत्कालीन जिल्ला विकास समितिले २०७० सालमा प्रकाशन गरेको जिल्ला पाश्र्वचित्रअनुसार जिल्लामा ४५ हजार १ सय ९१ घरधुरी छन् । त्यसमध्ये नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका अनुसार बैतडीका १२ हजार घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको छ ।

ग्रामीण क्षेत्रमा रहेका लघुजलविद्युत् आयोजनाहरू पनि पछिल्लो समय धमाधम बन्द हुन थालेपछि स्थानीय तहहरूले विद्युतको समस्या झेलिरहेका हुन् । जिल्लामा रहेका १९ वटा लघुजलविद्युत् आयोजनामध्ये अधिकांश बन्द अवस्थामा छन् । सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजना पनि रातको समयमा सञ्चालन हुने भएकाले सरकारी कार्यालयमा कामकाजका लागि उपयोग गर्न पाइएको छैन् ।

तपाईंको प्रतिक्रिया दिनुस्