बाजुरा सदरमुकाममा रहेको खेल मैदान गौचरणमा परिणत

label सुदूरखबर संवाददाता query_builder September, 04 2018

मदन वि.क./सुदूरखबर।
बाजुरा, भदौ १९ । बाजुराको सदरमुकाम मार्तडीमा रहेको खेल मैदान गौचरणमा परिणत भएको छ । जिल्लामा खेलाडीहरुको क्षेमता अभिवृद्धि गर्ने मनसायले २०७३ सालमा तत्कालिन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बहुउद्देश्यीय कवर्डहलको सिलन्यास गरेका थिए। तर, कवर्डहल सिलानास गरिएको अढाई वर्ष वितिसक्दा पनि पुरा हुन नसकेपछि खेलमैदान सहित कवर्डहल गौचरणमा परिणत भएको हो ।

 जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा निर्माण हुन लागेको कवर्डहल निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट ४५ लाख रकम विनियोजित गरिएको थियो । २ हजार ८ सय १५ वर्गमिटर क्षेत्रफलमा रहेको जग्गामा कवर्डहल निर्माण सम्पन्न गर्नका लागि १ करोड ९४ लाखको प्राविधिक इष्टमेट तयार पारिएको छ तर यस अघि विनियोजित गरेको सो रकमले नपुगेपछि अहिले कवर्डहल अलपत्र अवस्थामा रहेको छ ।

खैलकुद मैदान भित्र कवर्डहल निर्माणका लागि सिलानास गरिएको भएपनि सम्बन्धित निकायको उदासिनताका कारण समयमै कवर्डहल निर्माण नहुँदा खेलाडीहरुलाई आफ्नो प्रतिभा देखाउन समस्या भएको भलिबल खेलाडी पदमबहादुर सिंहले बताएका छन् ।

जिल्लाको खेलकुद विकास समितिको प्राङ्गणमा निर्माण हुन लागेकोे बहुउद्देश्यीय कवर्डहल अलपत्र अवस्थामा रहेको छ । अहिले सो कवर्डहल दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । खेल मैदान भित्र अहिले खेलाडीको सट्टा पशुचौपायाहरु देखिने गरेका छन् । प्रयाप्त खेलमैदान नहुँदा यहाँका कतिपय खेलाडीहरुले विभिन्न खेलहरु देखाउन सरकारी कार्यालयका मैदान प्रयोग गर्ने गरेका छन् ।

जिल्लामा खेल मैदानको अभावले खेल क्षेत्रमा भएका हजारौ युवाहरुको खेलप्रतिको चासो पछिल्लो समयमा घट्दै गएको छ । प्रयाप्त खेलमैदान अभावकै कारण विगतका वर्षहरुमा जिल्ला सदरमुकाम मार्तडीमा खेलिदै आएको फुटबल केही वर्षदेखि लोप हुँदै आएको छ । विगत १ दशकदेखि बाजुरामा खेलकुदका सम्पूर्ण गतिविधिहरु सुस्ताएका छन् ।

जिल्लामा प्रयाप्त खेल मैदान नहुँदा जिल्ला स्तरका खेलकुद प्रतियोगिता संचालन गर्न जिल्ला खेलकुद विकास समितिलाई निकै समस्या हुने गरेको छ । जसका कारण जिल्लाका खेलाडीहरुले आफ्ना प्रतिभाहरु देखाउन सकेका छैनन् ।

जिल्लाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरिसकेको छ । तर खेलकुदका लागि मैदान नहुँदा जिल्लामा प्रत्येक वर्ष संचालन हुँदै आएको राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीता समेत संचालन गर्न अन्य विद्यालयका खेलमैदानहरु प्रयोग हुँदै आएका छन् । जिल्लाका सबै खेल तर्फका खेलाडीहरुका लागि कुनै पनि स्थानीय तह र जनप्रतिनिधिहरुले चासो नदिएको फुटबल खेलाडी निशान्त रोकायाले गुनासो गरेका छन् ।

जिल्लामा खेलकुदका प्रतिभाहरु धेरै भएपनि खेलमैदान र आर्थिक अभावकै कारण खेलाडीहरु उत्पादन गर्न नसकिएको खेलप्रशिक्षक कर्णबहादुर थापाको भनाइ छ । उनले भने, ‘जिल्लामा खेलमैदान प्रयाप्त गर्न स्थानीय तहहरु र जनप्रतिनिधिहरुले खेलमैदानका लागि आवश्यक रकम विनियोजन गर्नु पर्छ ।’

जिल्ला खेलकुद विकास समितीका अध्यक्ष हिक्मतबहादुर थापाले भने जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि कोही कसैले ध्यान नदिएको गुनासो गरेका छन् । जिल्लामा प्रयाप्त मात्रामा खेल मैदान नभएको उनले स्वीकार गरेका छन् ।

खेलमैदान अभावकै कारण आफूहरुलाई खेलकुद प्रतियोगिता आयोजना गर्न समस्या हुने गरेको भएपनि यस जिल्लाबाटै प्रतिनिधित्व गर्ने प्रतिनिधि सभासदस्य लालबहादुर थापा, राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डे, प्रदेश नं. ७ का गृहमन्त्री प्रकाशबहादुर शाह र जिल्लाका स्थानीय तह र जनप्रतिनिधिहरुले खेल क्षेत्रमा चासो नदिएको अध्यक्ष थापाले आरोप लगाएका छन् । जिल्ला व्यापी खेलकुद प्रतियोगिता संचालन गर्नका लागि आर्थिक अभाव पनि उत्तिकै छ । खेलकुद प्रतियोगिता संचालनका लागि सरोकारवाला निकायहरुले बजेट विनियोजन नगर्दा जिल्लामा खेलकुद गतिविधि अघाडी बढ्न नसकेको स्थानीय खेलाडीहरुले बताएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्