डोटी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि साउँद र कलेलका दुई प्यानल भिड्दै

label सुदूरखबर संवाददाता query_builder September, 06 2018

झलक पाली/सुदूरखबर।
डोटी, भदौ २१ । व्यापार व्यवसायीहरुको छाता संगठन डोटी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । संघको नेतृत्वका लागि यहि भाद्र २३ गते हुने निर्वाचनमा विक्रम साउँद ‘घटाल’ र मोहनबहादुर कलेलका दुइ छुट्टा–छुट्टै प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका साउँद संघको वर्तमान कार्य समिति बरिष्ठ उपाध्यक्ष हुन् भने अध्यक्षमै उम्मेदवारी दिने तयारी गरेका कलेल पूर्व बरिष्ठ उपाध्यक्ष हुन् । साउँदले एक कार्यकाल सदस्य पदको जिम्मेवारी पनि सम्हालेका थिए भने कलेलले दुइ कार्यकाल सदस्य पदको जिम्मेवारी सम्हालेका थिए ।

विक्रम साउँद नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्षमा नैन सिंह बोहरा, वाणिज्य उपाध्यक्षमा नरबहादुर खड्का, महासचिवमा हर्क बहादुर खत्री ‘कैलाश’, सचिवमा लोकबहादुर खड्का, कोषाध्यक्षमा रामबहादुर बोगटी रहेका छन् ।

मोहनबहादुर कलेल नेतृत्वको प्यानलमा प्रथम उपाध्यक्षमा खेमराज भण्डारी, वाणिज्य उपाध्यक्षमा वासुदेब गौतम, महासचिव दिपकबहादुर खड्का, कोषाध्यक्ष दिर्धबहादुर साउँद, सचिव लक्ष्मी श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्य पदमा साउँद प्यानलबाट राधादेवी द्वारीया, संगीता जोशी श्रेष्ठ, गीता नेपाली, कृष्णा कुमारी बम चन्द, सरिता रेग्मी, प्रकाश रावल, कपिल कुँवर ‘इन्द्र’ खेम चन्द र लालबहादुर कठायत रहेका छन् ।

त्यस्तै कलेल प्यानलबाट सदस्य पदमा गणेश भण्डारी, दल बहादुर बलायर, तारा सिंह खड्का, अमित अमात्य, मञ्जु खड्का साउँद, इन्द्रादेवी साउँद, चन्द्रा माझी, रञ्जना वागचन र लक्ष्मी खड्का रहेका छन् ।

दुवै पक्षका उम्मेदवारले आफ्नो पक्षमा मत सिर्जना गर्नका लागी जिल्लाका विभिन्न क्षेत्रमा रहेका व्यापार व्यवसायीसँगको भेटघाट र प्रचार–प्रसारलाई घनिभूत पारेका छन् । त्यस्तै सदस्य पदमा दुइ जना गणेश बोहरा र कल्लु भुजनीयाले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

निर्वाचन तालिका अनुसार भोलि भाद्र २२ गते शुक्रबार बिहान १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि शुक्रबार नै उम्मेदवारी फिर्ता, उम्मेदवारीमाथि दावि विरोध, दावी विरोधमाथि छानविन गरी साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने छ । पर्सी भाद्र २३ गते शनिबार हुने संघको निर्वाचनमा जम्मा १ हजार २ सय ४० मतदाता रहेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।

डोटीलाई मलमपट्टी लाउँछु : साउँद
साविकको सुदूरपश्चिमको क्षेत्रिय सदरमुकाम रहेको डोटीको दिपायल प्रादेशिक राजधानी बन्न नसकेको हुँदा डोटीलाई मलमपट्टी लाउने अध्यक्ष पदका उम्मेदवार विक्रम साउँद ‘घटाल’ले बताए ।

उनले भने–‘डोटीका आम जनता र व्यापारी यतिखेर निराश बनेका छन्, तर मैले दिपायल र डोटीमा भएका अन्य विभिन्न सम्भावना खोजेर मलमपट्टी लाउँछु ।’

आफुले साना–ठूला सबै व्यापारीको पीरमर्का बुझेका कारण सबैकोे हकहितका लागी काम गर्ने र उद्योग वाणिज्य संघ सबैको साझा हो भन्ने अनुभूती हुने गरी व्यवसायिक एकताका लागि काम गर्ने साउँदले वचनबद्धता जनाए ।

म संघको घर बनाउँछु : कलेल
आफु अध्यक्ष पदमा निर्वाचित भएमा सर्वप्रथम डोटी उद्योग वाणिज्य संघको भवन निर्माण गर्ने अध्यक्ष पदका उम्मेदवार मोहनबहादुर कलेलले बताए ।

कलेलले भने–‘वि.सं.२०४८ मा स्थापित डोटी उदोग वाणिज्य संघको गतिलो घर समेत छैन, म निर्वाचित भएपछी सर्वप्रथम वाणिज्य संघको घर बनाउँछु ।’ डोटी जिल्लाको कृषी, पर्यटन, कला, संस्कृती, व्यापारिक हकहितमा आफु काम गर्न आफु सधैं तयार रहेको अध्यक्ष कलेलले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्