आज गणेश चतुर्थी पर्व मनाइँदै

label सुदूरखबर संवाददाता query_builder September, 13 2018

काठमाडौं, भदौ २८ । भाद्र शुक्ल चतुर्थी। सनातन धर्मावलम्बीहरू बिहीबार भगवान् गणेशको जन्मदिन मनाउँदै छन्। शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणहरूमा उल्लेख छ।

भगवान् गणेश सबै काममा बिघ्न हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा पुजिन्छन्। हिन्दूधर्ममा गरिने सम्पूर्ण पूजाआराधनामा पहिले उनैको पूजा गरिन्छ। गणेशको पूजा नगरी वा उनलाई नसम्झी गरेका कार्यमा विघ्नबाधा पर्छ भन्ने विश्वास छ। हिन्दु समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ।

ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन्।

अन्य देवता जस्तै मानव आकृतिमा जन्मिएका गणेशलाई पिता शिवले कुनै वेला नचिनेर टाउको काटिदिएको र पछि हात्तीको टाउको जोडिएको प्रसंग पुराणमा आउँछ। अर्को कथाअनुसार जन्मिनेबित्तिकै शनिको दृष्टि पर्दा शिर गायब भएको र हात्तीको टाउको गाँसिएको प्रसंग पनि आउँछ।

सूर्यविनायक, चन्द्रविनायक, जलविनायक, चारुविनायक, अशोकविनायक, मरुविनायक र कमलविनायक लगायत काठमाडौं उपत्यकाका गणेश मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। भाद्र शुक्ल चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता छ। चन्द्रमा हेरे चोरीको दोष लाग्ने विश्वास गरिन्छ।

पौराणिक कथाका अनुसार गणेशले नै यो दिन चन्द्रमाको दर्शन गर्न नहुने श्राप दिएका हुन्। गणेश चौथी नेपाल र भारतका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइन्छ। विभिन्न स्थानमा गणेश रथयात्रा निस्कन्छन्।

नेवार समाजमा यो दिनलाई चथाः भनिन्छ। तराई–मधेशमा पनि यो पर्व महत्त्वका साथ मनाइन्छ। गणेश चौथीको बहाना गरी गाउँघरतिर साँझमा केटाकेटीले काँक्रो, फलफूल र तरकारी चोरी गरी मनोरञ्जन लिने चलन पनि छ।

तपाईंको प्रतिक्रिया दिनुस्